पाकिस्नान सुपर लिगमा छनौट भए सन्दीप, पारिश्रमिक ५७ लाख

पाकिस्नान सुपर लिगमा छनौट भए सन्दीप, पारिश्रमिक ५७ लाख

काठमाडौं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तानी सुपर लिग (पिएसएल) को लागि छनौट भएका छन् । उनलाई क्बल लाहोर कलन्दर्सले मंगलबार भएको गोल्ड ड्राफ्टबाट लिएको हो । इस्लामाबादमा हुने चौथो संस्करणको प्रतियोगिताका लागि सन्दीप कलन्दर्स टोलीमा समावेश भएका हुन् ।

सन्दीप गोल्ड क्याटागोरीबाट छानिएका हुन् । डाइमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ गरी ४ वर्गमा खेलाडीको वर्गीकरण गरिँदा सन्दीप विदेशी खेलाडी कोटाबाट गोल्ड क्याटागोरीमा परेका थिए । पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका सोमपाल कामीलाई भने कुनै पनि टोलीले लिएनन् ।

अघिल्लो सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेपछि चर्चा कमाएका सन्दीप पिएसएलमा पहिलो पटक छनोट भएका हुन् । गत वर्ष प्रारम्भिक ड्राफ्टमा परे पनि सन्दीपलाई अन्तिममा कुनै पनि टिमले लिएका थिएनन् । आइपिएलसँगै क्यारेबियन प्रिमियर लिग (सिपिएल), ग्लोबल क्यानडा लिग खेलिसकेका सन्दीपलाई लाहोरको क्लबले लिएसँगै पाकिस्तानको लिग खेल्ने अवसर मिलेको हो ।

सन्दीपले पिएसएलमा खेलेबापत कप्तीमा ५७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । अस्ट्रेलियन बिग बास लिग (बिबिएल) मा मेलवर्न स्टार्स र बंगलादेश प्रिमियर लिग (बिपिएल) सिलेट सिक्सर्समा अनुबन्धित सन्दीपले पिएसएलको टोली कलन्दर्समा दक्षिण अफ्रिकाका एबी डी भिलियर्ससँग खेल्ने मौका पाउनेछन् । हाल सन्दीप युएईमा हुने टी–१० लिग खेलका लागि दुबईमा छन् । उनले केरला किङ्सबाट खेल्दै छन् ।

६ सय विदेशी खेलाडीसहित स्थानीय खेलाडीबीच पिएसएलका लागि ड्राफ्ट भएको थियो । छ टोलीको सहभागिता रहने प्रतियोगिता १४ फेब्रुअरीबाट सञ्चालन हुनेछ । प्रतियोगिताका आठ खेल पाकिस्तानमा हुनेछन् भने बाँकी खेल संयुक्त अरब इमिरेट्स (युएई) मा हुनेछन् ।