काठमाडौं । आज मंसीर ५ गते । नेपालको इतिहासमा तात्कालीन विद्रोही माओवादी र सरकारका बीचमा वृहत् शाान्ति संझौता भएको दिन । उक्त सम्झौतापछिका उतारचढावका दिनहरुमा एकपछि अर्को गरी जनताका अधिकारहरु खोसिदै गए । यसैबेलामा मधेश, जनजाति, आदिवासी लगायतका विभिन्न आन्दोलनहरुको उठान भए । यी आन्दोलनहरु उठ्नुका पछाडिको मूल कारण थियो– जनयुद्धलाई अपूरो र अधूरो राखेर सम्झौतामा आउनु ।
जनयुद्धका शीर्षस्थ भनिने मुट्ठीभरका केही नेताहरुको स्वार्थसिद्ध हुने भएपछि जनताका एजेण्डा र अपेक्षाहरु त्यतिकै अलपत्र छाडेर यो सम्झौता गरिएको थियो । सशस्त्र संघर्षको खारेजी, जनताको जनसत्ता विघटन, जनअदालतको खारेजी, जनसेना क्यानटोनमेन्टमा र नेताहरु काठमाडौंको सिंहदरवारमा सिंदुरेजात्रा गरी भित्रिएका थिए ।
वर्गीय हिसाबले यो घटना मुक्तिकामी जनता मधेशी, जनजाति, आदिवासी, दलित, महिला, मुस्लिम, अल्पसंख्यक, उत्पीडित तथा मुक्तिकामीका लागि दुखद् रह्यो भने मुटठीभर नव सम्भ्रान्त र आत्मसमर्पणकारी नेताका लागि भने निकै सुखद रह्यो । वर्गीय विचारका हिसाबले यो वर्गीय आत्मसमर्पण, राष्ट्रिय आत्मसमर्पण र वैचारिक आत्मसमर्पण थियो ।
त्यसैका कारण हालसम्म सत्य निरुपण तथा मेलमिलाप आयोग थाङ्नामा सुतेको छ । पुरानो सत्ता बलशाली भएको छ र क्रान्ति गरेका भनेका नेताहरु त्यसैमा समावेश भएका छन् । देश र जनताका समस्याहरु जहाँको त्यहीं छन् ।