जगतबहादुर श्रेष्ठ एक साहसी, सिद्धान्तनिष्ठ तथा क्रान्तिकारी जुझारुपन भएको व्यक्तित्व हुनुहुन्छ

प्रकाशित मिति : २०७५ कार्तिक १९

- पुष्पगोपाल श्रेष्ठ

नेपाली कम्युनिष्ट आन्दोलनका एक अग्रणी व्यक्तित्व जगतबहादुर श्रेष्ठ तपाईद्वारा अभिनन्दित हुने कार्यक्रम तय भएको रहेछ, कस्तो अनुभूति गरिरहनु भएको छ ?

एकदमै प्रशंसनीय कार्य लाग्यो, वहाँजस्तो प्रतिष्ठित सहयात्रीलाई अभिनन्दन गर्न पाउनु म आफैंमा गौरवान्वित भएको महसुस हुन पुगेको छ ।
तपाई र अजगतबहदुर श्रेष्ठको राजनीतिक सहकार्य बारे केही बताइदिनुस् न ।

राजतन्त्रात्मक पञ्चायती कालरात्रीमा राजनीतिमा लाग्नु पक्कै पनि सहज थिएन । त्यसमाथि कम्युनिष्टको ‘क’सम्म सुन्न नचाहने अर्ध–सामन्तवादी तथा अर्ध–औपनिवेशिक निरंकुश तानाशाही व्यवस्था कायम रहेको नेपालमा नेपाली कम्युनिष्ट आन्दोलनमा सरिक भई हिंड्नु कम चुनौतीपूर्ण थिएन । तर कामरेड जगतबहादुर श्रेष्ठ जस्तो साहसी सिद्धान्तप्रति निस्ठावान, क्रान्तिकारी जुझारुपन हुनुका साथै जनसमुदायमाझ घनिष्ट सम्बन्ध कायम गरी तमाम् उत्पीडित जनसमुदायलाई क्रान्तिप्रति आकर्षित गर्न गराउन सक्षम सहयात्रीसँग काँधमाकाँध मिलाई आफ्नो मातहतका सम्पूर्ण कार्यकर्ताहरुको हर समस्यालाई आफ्नै समस्या सम्झी समाधानको बाटो तय गर्दै, नेपाली कम्युनिष्ट आन्दोलनमा सरिक भई, मार्क्सवादी उद्देश्यलाई उजिल्याउँदै क्रान्तिकारी धारमा सरिक बन्दै गरेको त्यो कठिन दिनको कुरा सम्झन्दासम्म पनि अहिले म आफूलाई नै ती बितेका दिनहरुको ठीक ढङ्गले विश्वास गर्न गाह्रो परिरहेको छ ।

कम्युनिष्ट आन्दोलनको अग्रज पुस्ताबाट पछिल्लो पुस्ताले के कस्ता कुराहरु सिक्न जरुरी देख्नु हुन्छ ?

क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई सदावहार क्रान्तिकारी बनाई, क्रान्ति हाँक्न सक्षम बनाई राख्न ‘नेता प्रधान होइन, नीति प्रधान’को सोचलाई क्रान्तिकारी सचेतता अपनाई, पार्टीभित्र घुसपैठ हुनसक्ने र हुने क्रान्ति विरोधी गलत सोच, गलत प्रकृति, गलत चिन्तन, दक्षिणपन्थी अवसरवाद, दक्षिणपन्थी संशोधनवाद तथा सबैखाले प्रतिक्रियावाद विरुद्ध पार्टीलाई सुदृढ बनाइ राख्न जरुरी छ । जसको निम्ति क्रान्तिकारी पार्टीका सबै जिम्मेवार नेता तथा कार्यकर्ताहरु आवश्यकताअनुरुप संचालन हुनु र गर्नुका साथै जनसमुदायमाझ घनिष्ट सम्बन्ध कायम गरी, पार्टी सुदृढीकरण अभियानमा सदा सकृय भई फलामलाई गाल्ने आगोको मुस्लो बनी निर्भिकताका साथ अग्रसर भई अग्र पङ्क्तिमा उभिन सक्नु पर्दछ । ‘सरकारको काम कहिले जाला घाम’ भन्ने जस्तो गलत मनोवृत्ति त्यागी, मार्क्सवादी–लेनिनवादी–माओवादी अडान र दृष्टिकोणमा अडिग भई क्रान्तिको ज्वालामा निर्भिकताका साथ दह्रोगरी पाइला चाल्न सक्नु पर्दछ ।

नेपाली कम्युनिष्टको पछिल्लो कालखण्डमा कडा चुनौतीहरुको सामना गर्न कम्युनिष्ट क्रान्तिकारीहरुले के कस्ता काममा ध्यान तथा जोड दिन जरुरी छ ?

झापा विद्रोहबाट पलायन भई प्रतिक्रियावादी क्याम्पमा लम्पसार पर्न गएका एमाले र महान दश वर्षीय जनयुद्धमाथि गद्दारी गरी वर्गीय तथा राष्ट्रिय आत्मसमर्पण गरी प्रतिक्रान्तिको नेतृत्व गर्न पुगेका प्रचण्ड र तिनका विछलग्गु समूह, अहिले तथाकथित वाम सरकार नाउँका यी देशद्रोहीहरु साम्राज्यवाद तथा विस्तारवादको दलालीमा चुर्लुम्म डुबेर नेपालको राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीवीका जस्तो अत्यन्तै संवेदनशील समस्याहरु सुल्झाउनुको उल्टो बल्झाउने र अरु विकराल स्थिति सृजना गर्नमै तल्लिन रही आएका छन् । यतिखेर नेपालमा विकास हुँदै गइरहेको प्रतिक्रियावादी संकट तथा अन्तरविरोधहरुको तिक्तताको सन्दर्भमा प्रतिक्रियावादी एवम् नवसंशोधनवादीहरुको यो वा त्यो गुटको अराजनैतिक गठबन्धनमा नलागी विशुद्ध क्रान्तिकारी नीतिअनुसार गएर पार्टीलाई क्रान्तिकारी दिशामा अघि बढाउने राम्रो अवसर पैदा भएको छ । प्रतिक्रियावादी र नवसंशोधनवादीहरुले फैलाउने दुषित हावाहुरीका अगाडि नझुकी इतिहासका नकारात्मक अनुभवहरुबाट शिक्षा लिएर दृढतापूर्वक पार्टीको क्रान्तिकारी कार्यदिशा लागु गर्न अगाडि बढेर मात्र प्रतिकूलतालाई अनुकूलतामा फेरिन सकिन्छ भन्ने कुरो गम्भीर रुपले बुझ्न जरुरी छ ।

मालेमावादी क्रान्तिकारी कम्युनिष्टहरुले अन्यन्तै महत्वका साथ बुझ्नु पर्ने कुरो भनेको देश, काल र परिस्थितिभित्र खुम्चेर आत्मगत शक्ति कमजोर छ भन्दै नेतृत्व मात्र ओगति ‘बिरालो बाँधी श्राद्ध गर्ने प्रथा’मा अल्झी क्रान्तिको माला जपेर बस्दैमा क्रान्ति आफै हुने कुरो होइन । क्रान्ति हुन र गर्न मार्क्सवादी–लेनिनवादी–माओवादी पथप्रदर्शनलाई आत्मसात् गरी मालेमावादी अडान र दृष्टिकोण अनुरुप क्रान्तिकारी पथमा अग्रसर हुने मानसिकता निर्माण गरी, सर्वहारा वर्गका महान नेता लेनिनको यो उपदेश –“मार्क्सवादी क्रान्तिकारीहरु कुनै पनि समय र परिस्थितिभित्र गुम्सेर बस्दैन, बरु समय र परिस्थितिलाई आफू अनुकूल बनाई हरहमेसा क्रान्तिकारी पथमा अगाडि बढिरहेको हुन्छ र अगाडि बढ्नु पर्छ” लाई हृदयंगम गरी सच्चा क्रान्तिकारी कम्युनिष्टहरु हिम्मतका साथ क्रान्तिकारी पथमा अगाडि बढ्न सक्नु पर्दछ ।

अन्तमा, कम्युनिष्ट आन्दोलनको आगामी कार्यभारका रुपमा रहेको नयाँ जनवादी क्रान्ति पूरा गर्नका लागि छरिएर विभिन्न समुहमा विभक्त अवस्थामा रहेका क्रान्तिकारीहरुलाई के भन्न चाहनु हुन्छ ?

पटकपटक पार्टी विभाजनको मार सँगसँगै पक्षिणपन्थी अवसरवादी तथा नवसंशोधनवादीहरुले पार्टीभित्र र बाहिर छरेर गएका क्रान्तिविरोधि आचरणको प्रभावमा परी विभिन्न चिरामा विभाजित भई छरिएर रहनुभएका सच्चा क्रान्तिकारी कामरेडहरुले भ्रमवस आफूलाई पद र प्रतिस्ठाको मूल्य र मान्यतामा अल्भाई बस्नु ठीक हैन, गलत हो । पद र प्रतिस्था भनेको त क्रान्तिकारी कम्युष्टिहरुको निमित्त गौण मात्र हो, मूल कुरो त क्रान्तिको मुसलोमा डटेर, क्रान्तिकारी अग्रगामी छलाङ मार्न आज क्रान्तिकारी पार्टी एकता र ध्रुवीकरणको टड्कारो खाँचो छ । यस विषयमा गम्भिरभई जिम्मेवारी सोचका साथ क्रान्तिकारी पठमा अग्रसर हुनु नितान्त जरुरी छ र यो आजको राष्ट्रिय आवश्यकता पनि हो ।