
काठमाडौं । मानवअधिकारकर्मी तथा अभिभावक पद्मरत्न तुलाधारको ७८ वर्षको उमेरमा निधन भएको छ । केही दिनदेखि काठमाडौंको नर्भिक हस्पिटलको सघन कक्षमा उनको उपचार भइरहेको थियो । हस्पिटलको सूचना अनुसार उनको १२ बजेर ४५ मिनेट जाँदा दुखद् निधन भएको हो ।
लामो समयदेखि स्वास्थ्य लाभ लिइरहेका तुलाधरको अचानक स्वास्थ्यमा गडबडी आएपछि गत शुक्रबार साँझ माइतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आकस्मिक भर्ना गरिएको थियो । डाक्टरहरुले उनलाई मस्तिष्कघात भएको बताएका थिए । त्यस लगत्तै उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा रिफर गरिएको थियो ।
उनलाई भेट्न त्यहाँ पुगेका सुरेश श्रेष्ठका अनुसार नर्भिक अस्पतालबाट तुलाधरको पार्थिव शरीरलाई उनको लैनचौरस्थित मूल घरमा लगिने छ । श्रेष्ठका अनुसार घरमा गरिने कार्यहरु सकिए पछि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने बारेमा छलफल भइरहेको पनि छ ।
मानवअधिकारवादी अन्दोलनका चर्चित नेता तुलाधरले पञ्चायत कालमा वामपन्थीहरूको प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्य भएर पञ्चायको विरुद्धमा व्यवस्था परिवर्तनका लागि आवाज उठाएका थिए । त्यसपछि पनि निरन्तर जनपक्षीय संघर्षको अगुवाइ गर्दै आएका तुलाधर मानवअधिकार संरक्षण मञ्च, मंका खललगायत संघ संस्थाका संस्थापक हेका थिए ।
नेपालको ऐतिहासिक जनयुद्धको पछिल्लो चरणमा एक विश्वासिलो जनपक्षीय सहजकर्ताका रुपमा तातकालीन सरकार–माओवादी वार्तामा महत्वपूर्ण भूमिमका निर्वाह समेत गरेका थिए ।





























