नेपालमा विद्यमान कम्युनिस्ट पार्टीहरुबारे

नेपालमा विद्यमान कम्युनिस्ट पार्टीहरुबारे

नेपाली कम्युनिस्ट आन्दोलनले अहिले करीब सात दशकभन्दा बढी पार गरिरहेको छ । यसबीचमा नेपालमा र विश्वमै कम्युनिस्ट सत्ताको स्थापनाका लागि अनेकौ प्रयोगहरु र प्रयासहरु गरिएका छन र यति लामो ऐतिहासिक अवधिमा नेपाली कम्युनिस्ट आन्दोलनभित्र वर्गसङ्घर्ष, दुईलार्ईन सङ्घर्ष र पार्टीभित्र अन्तरसङ्घर्षका अनेकौं जटिल बाङ्गाटिङ्गा र कहालिलाग्दा घुम्तिहरु रहेका छन् । यति लामो अवधिमा नेपालमा कम्युनिस्ट सत्ता स्थापनाका लागि हजारौं सहीदहरूले बलिदान दिएका छन् । २०५२ फागुन १ गतेदेखिको माओवादी नेतृत्वको जनयुद्ध यी सबैमा विकसित एउटा सर्वहारावर्गीय क्रान्ति मानिन्छ ।

हुन त २०२८ सालमा झापामा भारतीय नक्सलवादी नेता चारू मजुम्दारको कार्यदिशाको प्रभावमा आएर नेपालका केही युवाले खासगरी कोशी, मेचीतर्फ सशस्त्र विद्रोहको रूपमा सामन्तलाई मार्ने काम सुरू गरिए, तर केही वर्ष नबित्दै त्यसले क्रमशः दक्षिणपन्थी मार्ग अवलम्वन गर्दै अहिलेको एमालेको अवस्थामा आइ पुगेको छ । २०५२ सालदेखि रोल्पाबाट सुरू गरिएको सशस्त्र विद्रोहले नेपालमा दश वर्ष त प्रभावकारी रूपले आफूलाई थेग्यो, तर २०६२ सालपछि भने त्यसको एउटा समूह जसको नेतृत्व प्रचण्ड—बाबुरामले गर्दै आएका थिए, त्यसले समग्र माओवादी आन्दोलनलाई विखण्डन र विसर्जनको चौबाटोमा लगेर अलपत्र छाडिदिएको छ । यसैको निरन्तरतास्वरुप अहिले प्रचण्डले ओलीसित मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेर नेपालका कम्युनिस्टहरुलाई भ्रम पार्न एक छिन भए पनि सफल देखिएका छन् ।

अहिले नेपालमा विद्यमान कम्युनिस्टहरुको वर्गीकरण यसरी गर्न सकिन्छ : पहिलो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जसको नेतृत्व ओली र दाहालले गर्दैछन् । दोस्रो, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), तेस्रो, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), चौथो, नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी, पाचौं, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, छैटौं, ऋषि कट्टेल नेतृत्वको नेकपा र यी बाहेक प्रचण्डको नेतृत्वमा एमालेमा बिलिन हुन नमानेर प्रचण्डबाट विद्रोह गरेका किराती र आहुतीको नेतृत्वका समूहहरु पनि छन । त्यसको साथै विभिन्न माक्र्सवादी बुद्धिजीवीहरु मिलेर बनेको माक्र्सवादी अध्ययन समूहहरु प्नि छन ।

राजनीतिक, वैचारिक तथा सैद्धान्तिक पक्षका हिसावले यिनीहरुलाई समग्र निम्न भागमा बाँडन सकिन्छ– पहिलो घोर दक्षिणपन्थी नवप्रतिक्रियावादी तथा स्वघोषित कम्युनिस्टहरु, जसले आफूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भन्दछ, तर व्यवहारमा ऊ पूरै एउटा दक्षिणपन्थी नवप्रतिक्रियावादी लाइनमा गइसकेको छ र अहिले सरकारमा छ । दोस्रो, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), जसले अहिले मध्यपन्थी मार्ग अपनाएको छ र आफूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र अन्य क्रान्तिकारी बीचमा पेन्डुलम बनाएको छ । उसमा ओली र बामदेव मोह बलियो बन्दै गएको छ । कुरामा तथा लेखमा क्रान्तिकारी तर व्यवहारमा घोर दक्षिणपन्थी नवप्रतिक्रियावादी तथा स्वघोषित कम्युनिस्टहरुसित मित्रतापूर्ण सम्वन्ध कायमै राख्न खोज्ने । मौका परे त्यही दक्षिणपन्थी नवप्रतिक्रियावादी तथा स्वघोषित कम्युनिस्टहरुको सरकारमा पनि जान चाहने, तर बाहिर तिनीहरुको विरोध पनि गरे झैं गर्ने र क्रान्तिका कुरा पनि गर्ने ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा आफूलाई नेपालमा माक्र्सवादको नया प्रयोग गर्ने एउटा सशक्त क्रान्तिकारी पार्टी हामी हौं भनेर दाबी गर्दैछ– “एकीकृत जनक्रान्ति” को नामको कार्यदिशा अगाडि ल्याएर । उसले संसदवादको त विरोध गरेको छ, तर यही प्रतिक्रियावादी सरकारसित वार्ता गर्न इच्छुक देखिएको छ । उक्त पार्टीका नेता नेत्रविक्रम चन्दको विश्वास छ कि २०६२ को चुनवांग वैठकले लिएको कार्यदिशा सही थियो, गल्ती त प्रचण्ड र बाबुरामले टेबुलमा गरेका हुन पचास/पचास प्रतिशत भागबण्डा गर्न नसकेर भन्ने छ । त्यसैले उक्त पार्टी एक पटक नेत्रविक्रम चन्दको नेतृत्वमा टेबुलमा बस्न चाहन्छ र त्यसमार्फत सरकारमा गएर परिवर्तनका केही देश र जनताको पक्षमा केही उत्साही काम गरेर देखाउन चाहन्छौ भन्ने उसको दाबी पनि छ । र, त्यसै दिशामा यो पार्टीको सबै क्रियाकलाप केन्द्रित देखिएको छ । नेत्रविक्रम चन्द के हुन ? क्रान्तिकारी हुन कि ? अराकतावादी वा दुस्साहसवादी आदि भन्न अझै कठिन देखिएको छ ।

२०५२ सालपछि अहिलेसमम प्रचण्डले पार्टीभित्र र बाहिर जे जस्ता व्यवहार (जनवादी केन्द्रीयता विरोधी, पार्टी निर्णयभन्दा आफूलाई सर्वोच्चतामा राख्ने र आफ्ना हरेक कृयाकलापलाई पार्टीभित्रै अपारदर्शी बनाउने र क्रान्तिको नाममा ती सबैलाई सही साबित गर्नेजस्ता प्रवृत्ति, व्यवहार र चिन्तन कतै चन्दमा पनि विद्यमान त छैन, मानिसहरु शंका गर्दछन । इतिहास निर्मम हुन्छ, जसरी प्रचण्डलाई इतिहासले अहिले सतहमा ल्याएर उनी के हुन भन्ने स्पष्ट पारिदिएको छ । त्यसैगरी एक न एक दिन नेपालका सबै कम्युनिस्ट नेताहरुलाई स्पस्ट पार्दै जानेछ) को क्रान्तिकारी हुन र को संशोधनवादी ?

क्रमशः