
काठमाडौं । बरिष्ठ पत्रकार रामचन्द्र हुमागाईको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । काठमाडौंको घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानको सभाहलमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको हो । नेकपा (क्रान्तिकारी माओवादी), इच्छुक प्रतिष्ठान र क्रान्तिकारी पत्रकार महासंघले संयुक्त रुपमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, क्रान्तिकारी माओवादीका काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठ, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, बरिष्ठ पत्रकार तथा लेखक नरेन्द्रजंग पिटर, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, प्रगतिशील पत्रकार समाजका प्रतिनिधि प्रकाश थापा, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्ताराम विडारीलगायतले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।

मन्तव्यको क्रममा क्रान्तिकारी माओवादीका महासचिव किरणले रामचन्द्र हुमागाईको तीनवटा व्यक्तित्व ः पत्रकारिता, साहित्यक र कम्युनिष्ट क्रान्तिकारीमध्ये कम्युनिष्ट क्रान्तिकारी व्यक्तित्व नै मूल भएको चर्चा गर्दै कम्युनिष्ट क्रान्तिकारी आन्दोलनको अभिष्ट पूरा गर्ने दिशामा आफूलाई प्रतिबद्ध रुपमा अगाडि बढाउन सक्नु नै रामचन्द्र हुमागाईप्रतिको सच्चा श्रद्धाञ्जली हुने विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष गजुरेलले चौतर्फी रुपमा अवसरवाद र प्रतिक्रियावाद हावी भएको समयमा जनपक्षीय तथा क्रान्तिकारी आन्दोलनमा अविचलित रुपमा प्रतिबद्ध भएर उभिनु भएका रामचन्द्र हुमागाई क्रान्तिकारी तथा जनपक्षीय पत्रकारहरुका निम्ति अनुकरणीय व्यक्तित्व रुहेको भन्दै त्यही पदचाप पछ्याउनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विचार राख्नु भयो ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बरिष्ठ पत्रकार हुमागाईले सिंगो जीवन पत्रकारिता पेशामा समर्पण गर्नुभएको भन्दै उहाँको संघर्षपूर्ण जीवनबाट पत्रकारिता क्षेत्रमा क्रियाशिल पछिल्लो पुस्ताले महत्वपूर्ण शिक्षा लिन सक्ने कुरा बताउनुभयो ।
कार्यक्रममा रामचन्द्र हुमागाईका जेठा छोरा राजु हुमागाईले बुवाले विगत ३६ वर्षदेखि प्रकाशन गर्दै आएको नेपालभूमि साप्ताहिक निरन्तर प्रकाशनका लागि शब्दयात्रा प्रकाशनलाई हस्तान्तरण गरिएको र त्यसको निरन्तरताका लागि आफूहरुले आवश्यक भूमिका खेल्ने बताउनु भयो ।

अन्य वक्ताहरुले रामचन्द्र हुमागाईले पत्रकारिता तथा साहित्य एवम् कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका बारे चर्चा गरेका थिए ।
क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य शारदा महतले सञ्चालन गरेको श्रद्धाञ्जली कार्यक्रममा पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस, पार्टी पिविएम दिनेश शर्मा‘सागर’, केन्द्रीय सदस्य प्रा.डा. जगदीशचन्द्र भण्डारी, केस हरिकृष्ण गजुरेल, रामचन्द्र हुमागाईका कान्छा छोरा रवि हुमागाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष तथा इच्छुक प्रतिष्ठानका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले गर्नुभएको थियो ।






























