एसिया कपः बंगलादेशको फराकिलो जितमा मुस्फिकर रहिमको शानदार शतक

प्रकाशित मिति : २०७५ भाद्र ३१

काठमाडौं, भदौ ३१ । एसिया कपमा बंगलादेशले श्रीलंकालाई १३७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । मुस्फिकर रहिमको शानदार शतक अनी उत्कृष्ट बलिङको मद्दतमा बंगलादेश एसिया कपमा आफ्नो पहिलो जित दर्ता गरेको छ ।

युएईमा शनिबारबाट सुरु भएको प्रतियोगिताको समूह ए अन्तर्गतको खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको थियो । उसका लागि मुस्फिकरले १४४ रन बनाए । १५० बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे । यस्तै मोहम्मद मिथुनले ६३ रनको योगदान गरे । उता बलिङतर्फ भने श्रीलंकाका लाथिस मालिंगाले १० ओभरमा २ मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए ।

२६२ रनको विजय लक्ष्य पछ्याएको श्रीलंकाको ब्याट्सम्यान बंगादेशको बलिङ सामु टिक्न सकेन र ३५.२ ओभरमा १२४ रनमा अलआउट भयो । बंगलादेशका मुस्फिकर रहिमले बनाएको रन नै श्रीलंकालाई धेरै भयो ।

श्रीलंकाका लागि कुशल परेराले २९ र उपुल थरंगाले २७ रन जोडे । श्रीलंकालाई अलआउट गर्न कप्तान मोसरफ मोर्ताजा, मुस्ताफिजुर रहेमान र मेहिदि हशन मिराजले २–२ विकेट लिए ।

बंगलादेशका ओपनर तमिम इकवाल भने एसिया कपको बाँकी खेल खेल्न नसक्ने भएका छन् । श्रीलंकाविरुद्धको खेलमा ओपनिङ गरेका तमिमले २ रन बनाउँदा उनको देब्रे नाडी फ्याक्चर भएको थियो । त्यसपछि रिटायर्ड हर्ट भएका उनले इनिङ्सको अन्त्यतिर मुस्फिकरलाई साथ दिने एक हातले ब्याटिङ गर्दै सबैको मन जितेका थिए ।

मुस्ताफिजुर रहेमान नवौँ विकेटको रुपमा आउट ४६.५ औँ ओभरमा आउट भएपछि क्रिजमा फर्केका तममिले मुस्फिकरसँग अन्तिम विकेटका लागि ३२ रनको साझेदारी गरे । तमिम भने २ रनमा नटआउट रहे ।