काठमाडौं, भदौ ३१ । जारी इङ्गलिस प्रिमियर लिग फुटबल अन्तरगत गएराति भएका पाँचौ चरणका खेलहरुमा ठुला क्लबहरुले जित हात पारेका छन् । गएरातिको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले घरेलु मैदानमा नयाँ टिम फुलह्यामलाई ३–० ले हरायो ।
फुलह्यामलाई हराउने क्रममा खेलको दोस्रो मिनेटमै ल्योरे सानेले गोल गरे । त्यसपछि २१ औँ मिनेटमा डेभिड सिल्भा र ४७ औँ मिनेटमा राहिम स्टर्लिङले गोल गरेपछि सिटीले सहज जित दर्ता गर्यो ।
यो सिजन गतिलो खेल्न नसकेको सिटीको सहरी प्रतिद्वन्द्वदी म्यानचेस्टर युनाइटेडले पनि गएराति नै भएको खेलमा वाटफोर्डलाई २–१ ले हरायो । युनाइटेडलाई जिताउन रोमलु लुकाकु र क्रिस स्मालिङले गोल गरे भने पराजित फुलह्यामका लागि एन्ड्रे गार्रेले सान्तवाना गोल फर्काए ।
अर्को खेलमा लण्डन क्लब चेल्सीले कार्डिफ सिटीलाई ४–१ ले हरायो । चेल्सीको जितमा एडिन हाजार्ड नायक सावित भए । उनले खेलको ३७, ४४ र ८० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । अर्को गोल ८३ औँ मिनेटमा विलियनले गर्न सफल भए । कार्डिफका लागि एकमात्र गोल सोल बाम्बाले खेलको १६ औँ मिनेटमा गर्दै अग्रता दिएका थिए ।
त्यसैगरी आर्सनलले पनि न्युक्यासल युनाइटेडलाई २–१ ले हराएको छ । उसका लागि मेसुट ओझिल र ग्रानिट झाकाले गोल गरे । पराजित न्युक्यासलका लागि कियारान क्लार्कले एक गोल फर्काए ।
अर्को खेलमा लिभरपुलले टोटनह्यामलाई २–१ ले हराएको छ । लिभरपुललाई जिताउन रोबर्टो फर्मिन्हो र विजनाल्डमले निर्णायका गोल गरे । टोटनह्यामका लागि खेलको अन्तिम समयमा एरिक लमेलाले सान्तवना गोल फर्काए ।
यी जितपछि चेल्सी ५ खेलबाट १५ अंकसहित लिगको शीर्ष स्थानमा छ । समान १५ अंक भएको लिभरपुल गोल अन्तरले दोस्रो स्थानमा छ । ५ खेलबाट १३ अंक जोडेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा रहँदा १२ अकंसहित वाटफोर्ड चौथो स्थानमा रहेको छ ।