कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका २को महाकाली उल्टाखाम नहरमा शनिबार बिहान ८ बजे एकजना बृद्ध महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृत शव स्थायी घर दैलेख भएकी ५५ वर्षीय आईती सार्कीको हो । उनी लामो समयदेखि कञ्चनपुरको सब्जीमन्डी खोका छाप्रोमा तरकारी बेच्दै आइरहेकी थिइन् । घटना किन र के उद्देश्यका लागि भयो भनेर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
त्यसैगरी, शनिबार नै कञ्चनपुरमा आफ्नो श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका ९ ब्रहमदेव खल्ला मुसुट्टी टुँडिखेलमा ३७ वर्षीय पुरुष चन्द्र पुन मगरले आफ्नो श्रीमती ३४ वर्षीया बिमला देवी पुनलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । चन्द्र पुन मगरले रक्सी सेवन गरी हत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शनिबारै साँझ ४ बजेतिर एकजना अर्को बृद्धको शव मृत अवस्थामा फेला परेको छ । महिलाको शव फेला परेको स्थान नजिकै अर्को एक बृद्ध पुरुषको शव फेला परेको हो । भिमदत्त नगरपालिका वडा नं. २ भाषि महलिया महाकाली नहरको छेउमा उक्त बृद्धको शव फेला परेको थियो । मृत अवस्थामा भेटिएका बृद्ध ५७ वर्षीय भिमलाल शर्मा रहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा निर्मला हत्या प्रकरणमा संलग्न रहेका दोषीहरुको अहिले सम्म पहिचान हुन नसकिरहेको र निर्मलाका हत्याराहरु माथि कडा कारवाहीको माग राखी देशैभर विरोध प्रदर्शन भइरहेको अवस्थामा भेटिएका शव बृद्ध, बृद्धा लगायतको हत्या माथि प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरमा अहिले पनि निर्मला पन्त हत्याको बिरोधमा आन्दोलन जारी रहेको छ भने काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरहरुमा पनि विरोध प्रदर्शन भईरहेको छ ।
यसैबिच, कञ्चनपुरमै दुई बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । जिल्लाको बेलडाँगी गाउँपालिकाका दुई बालिका दुई साता अघि बलात्कृत भएको भन्दै आफन्तले शनिबार प्रहरीलाई उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । प्रहरी स्रोतका अनुसार प्रहरीले बेलडाँगी–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ । विष्टले भदौ १५ गते शुक्रबार दुबै बालिका स्कुलबाट घर तर्फ फर्कने क्रममा मिठाई दिने भन्दै फकाएर घरमा लगि बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका छन् । दुबै बालिका घरदेखि ३० मिनेटको दुरीमा रहेको स्थानीय स्कुलको कक्षा दुईमा पढछन् ।