भरतपुर गेष्टहाउस चौरमा सिटीहल निर्माणको निर्णय अविलम्ब फिर्तागर्न चितवन देजमोको माग

भरतपुर गेष्टहाउस चौरमा सिटीहल निर्माणको निर्णय अविलम्ब फिर्तागर्न चितवन देजमोको माग

काठमाडौं । चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरमा सिटी हल निर्माणको दुई दलीय निर्णय चितवनवासीका लागि अमान्य भएकाले उक्त निर्णय तत्काल फिर्ता लिन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल चितवनले जोडदार माग गरेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल चितवनका अध्यक्ष अशोक शर्माद्वारा शुक्रवार हस्ताक्षरित र प्रेसित विज्ञप्तिमा उक्त कुरा जनाइएको हो ।

भरतपुर महानगरपालिकाको भरतपुरस्थित गेष्ट हाउसका अगाडि रहेको ठाउँमा सिटी हल निर्माणका लागि निर्णय गरिएको समाचार यस अघि पनि आएको थियो । तर स्थानीय जनताको सहमति भए नभएको र सिटीहल निर्माणका लागि उक्त स्थान अनुकुल भए नभएको गुनासो अहिलेसम्म आएको थिएन । वास्तवमा यो सिटी हल निर्माणमा सर्वदलीय सहमति र चितवनका जनताको सहमतिका कुरा गरे पनि यो त्यसो हुँदै नभएको र केही मुट्ठीभर मानिसका स्वार्थमा निर्णय गरिएको कुरा देजमो चितवनद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति र दुईवटा राजनीतिक दलहरुबीच भएको सहमतिलाई कथित सर्वदलीय सहमतिको नाम दिई भरतपुरको व्यस्त बजारमा रहेको गेष्टहाउस चौरमा सिटी हल निर्माणका लागि गरिएको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । वस्तुतः यो सहमति कुनै पनि सर्वदलीय सहमति नभई नेकपा र नेपाली कांग्रेसको आपसी स्वार्थमा जोडिएको अविवेकी र अवैज्ञानिक चिन्तनको उपज बाहेक केही पनि नभएको हाम्रो ठम्याइ छ । खासगरी व्यस्त बजार र वरपरका जनता जम्मा भएर खुल्ला चौरमा भेटघाट गर्ने, छलफल, राजनीतिक बहस र सामाजिक तथा सांस्कृतिक कार्यहरु गर्ने, जनताका राजनीतिक चेतनास्तर वृद्धि गर्न विविध कार्यक्रमहरु गर्ने उपयुक्त स्थलमा सिटीहल निर्माण गर्ने भनी जनताको सहमति विपरीत नांगो हस्तक्षेप र हमला गरिएको छ । यो निरंकुशताको प्रदर्शन हो ।’

जनताको र संपूर्ण बजारवासीको चाहना र अनुकुलतालाई ध्यानमा राखी काम गर्न गराउन खबरदारी गर्दै विज्ञप्तिमा थप भनिएको छ– ‘सर्वदलीय सहमतिको जामा पहिर्याएर दुईदलका मान्छेहरुको स्वार्थलाई केन्द्रमा राखी गरिएको विवेकहीन र खेदपूर्ण निर्णयप्रति हामी पूर्ण रुपमा असमति जाहेर गर्दछौं । यस प्रकारको गलत र अवैज्ञानिक निर्णयविरुद्ध सशक्त रुपमा खडा हुन आम जनसमुदायलाई आह्वान गर्दै उक्त निर्णय अबिलम्ब फिर्ता गर्नुका साथै बजारबाहिर उपयुक्त हुने गरी सिटीहल निर्माणको स्थान छनौट गर्न हामी सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं ।’