दम्भ, दावत, दक्षिणा र दरिद्रता

दम्भ, दावत, दक्षिणा र दरिद्रता

यी ‘द’ प्रारम्भिक शब्दहरु खोजेर र बलपूर्व मिलाएर ध्वनि वा सुन्दरता दिन खोजेको होइन । यिनीहरु आआफ्नो पारस्परिक सम्बन्ध र गहनता लिएर लाम मिलेर बस्न आएका हुन् । दावत शब्द सजातीय आभाषित नभएर पनि यो अरुसित रक्तसम्बन्ध नभएको भने होइन । यिनीहरु कुन उद्देश्यको पुष्टि प्रमाण र व्याख्याको निमित्त यसरी साथसाथै आए त ? म सकभर सबै पाठको चित्त बुझ्ने गरी प्रष्टीकरण दिन तयार छु ।

विषय नेपाली भारती संस्कार संस्कृति र सम्बन्धहरुसित जोडिएको छ । हामीले आफूलाई जति मौलिक र भिन्न राख्न चाहे तापनि स्वाधीनताको ऐतिहासिक गौरव बाहेक हामी आफ्नो अलग परिचय राख्न असमर्थ छौं ।

हाम्रा यी लोक, परलोक, दान, धर्म, स्वर्ग, नर्क, विपत्ति, मुक्ति, भोज, भतेर यावत संस्कार संस्कृति र चिन्तन एवम् व्यवहारहरु एकै छन् । हामी जन्म भोजदेखि मृत्यु भोजसम्म सबै मनाउँछौ । बर्थ डे भनेर जन्म भोज र तेह्रौ पुण्य तिथि भनेर मृतक भोज गर्छौं । मृतक भोजलाई काट्टो भोज भन्ने पनि गरिन्थ्यो र पूर्व राजाहरुले केही ब्राह्मणहरुलाई गजदान र धनदान गरेर किनी काट्टो खुवाएर मृतक र आफ्नो कुललाई चोख्याउँथे ।

मृतकको काजकिरिया गर्दा उसको तर्फबाट ब्राहमण, पुरोहित, जोगी, सन्यासी, भिखारी, गरीब आदिलाई मृतकले पाउँछ भनेर दान दक्षिणा दिने गरिए तापनि उसले सदगति पाउँछ भनेर मृतकभोज दिने चिन्तन हिन्दु संस्कृति न उहिले ठीक थियो, न त अहिले छ । अझ नेपाली धनवान, विद्यावान र क्षमतावान मानिसहरु तेह्रौ तिथिका दिन मलामी, समवेदक, कुटुम्ब, शुभचिन्तक, सहयोगी आदिलाई करकाप गरी गरी तपाईले नलिए दिवंगतले पाउनुहुन्न भनी भनी बोझिलो दक्षिणा दिइन्छ र बन्धुबान्धवहरुलाई भने थपी थपी रोटी, पुरी, जेरी, तरकारी, हलुवा, खिर खान जोड गर्छन् ।

यस्ता भोजसित दम्भको गला जोडिएको छ । र, बृद्धि तथा चेतनाको नराम्ररी पतन भएको छ । यस्ता भोज गर्नु पर्छ भन्ने कुनै आध्यात्मिक सिद्धान्त वा सन्देश पाइँदैनन् । यी अमानुषिक र अनुचित छन् । भारतीय योगी, महर्षि, विद्वान, वीर महात्मा शंकराचार्य, तुलसीदास, विवेकानन्द दयानन्द, महात्मागान्धी आदि कसैले श्राद्ध वा यस्ता भोजलाई राम्रो मानेनन् । र, आफ्नो मरण हुँदा गर्नु पनि भनेनन् । नेपालमा यस्ता भोज तथा दान दातव्यमा नलुटपुटिने विश्वेश्वर कोइरालाबाहेक अरु कोइराला अधिकारी कोही बाँकी होलान् र ?
भारतको अन्य ठाउँको अतिरिक्त राजस्थान प्रदेशमा यो प्रथा व्यापक रहिआएको छ ।

यस्तै यही संस्कारको प्रचलनहुँदा देवता ठाउँ ठाउँमा विवादमा पर्दै आएका छन् अर्थात् उन्को अस्तित्व तथा शक्तिमा प्रश्न चिन्ह लाग्दै आएको छ । र, ईश्वर मरिसक्यो भन्न पनि लेखक विद्वाानहरु पछि परेका छैनन् । वेदलाई बिगार्ने पाण्डापुरोहितले गर्दा पनि यस्तो भएको छ । एउटै संस्कृति र आध्यात्मक पृष्ठभूमि भएकाले नेपाली र भारतीय दुवै थरी जनताको अन्धविश्वासको स्तर समान जस्तो प्रतित हुन्छ । तापनि, केही घटनाका तथ्याङ्कहरुले नेपालीहरु बढी रुढीवादी भएको देखाउँछन् । चेतना र राजनीतिको रक्तसञ्चार भारतीयमा भन्दा बढी नेपालीमा अझ नेपालका श्रमजीवीहरुमा बढी भएको, सम्पन्न र पठित वर्गमा कम भएको, संस्कृतिलाई पूरापूर अवलम्बन गर्ने भन्दा पनि परिमार्जन गरी ग्रहण गर्नु पर्छ भन्ने पक्षमा नेपालीहरु पर्दछन् ।

नेपाली मध्यमवर्गका मानिसहरु अति सर्वहारावादी वा प्रगतिशील हुनेहरु पनि यो चिन्तनबाट माथि उठ्न वा अलग हुन नराम्रा संकार संस्कृतिका अर्धसर्मथक वा मृतकभोजका पूर्ण अनुयायी हुँदै आएका छन् । समाजवादी समाज निर्माणमा यो प्रवृत्ति बाधक भएको छ । अझ जनवादी राज्यव्यवस्थाको स्थापनाको मार्गमा त यो खतरनाक मानिदै आएको छ । नजान्नेले भन्दा जान्नेले घात गर्छ भन्ने कहानी यसमा सिद्ध छ ।

यो मृतकभोजको हैजा हिन्दु जातिमा मात्र नरहेर मुसलमान जातिमा पनि सङ्क्रमित हुँदै गएको छ । यो हैजा अरु जातिहरुमा भन्दा पनि आफ्नै हिन्दु जातीमा बढ्दै जानुका खास कारणहरु यस्ता छन् ।

– यस्ता दावतहरुमा धनीमानीमा दम्भ प्रदर्शन गर्ने चाहना बढ्दै जानु,

– सरकारी नोकरीदार र व्यवसायीहरुमा पनि यो सामर्थ्य र चाहना बढ्नु,

– अरुको अपमान उपहास गर्ने भएकाले गरीबहरुले पनि गर्दै जानु,

– सक्नेले उचाली दिएर नसक्नेले बाध्यतापूर्वक गर्नु,

– जो विधवा, असहाय र निरीह छन् समाजबाट बहिस्कृत होइएला (हुने गरेका पनि छन्) भनेर गर्नु,

– भारतका कतिपय पिछडिएका गाउँका गरीब र दलित मानिसहरु अर बलियो र उच्च जातिकाले गर भनी धम्की दिँदा गर्नु,

– गर्दै जाँदा यो संस्कार रुढी बन्दै जानु आदि ।

दिवंगत आफन्तको स्मृति तथा सम्मानका निम्ति धार्मिक तथा सार्वजनिक संस्थामा दान, चन्दा, भवन, स्मारक आदि दिँदै र बनाउँदै आए तापनि यसलाई व्यापकता दिई मृतकभोज काट्टो भोज तथा तेह्रौ पुण्य तिथिहरुलाई विस्थापित गर्नु तथा सामान्य चियापान, श्रद्धाञ्जली, समवेदना र धन्यवाद ज्ञापनमा रुपान्तरण परिमार्जन गर्नु सुन्दर विकल्प हुन आउँछ ।

आजको अवस्था सांस्कृतिक परिमार्जन गर्नुभन्दा तिनलाई उल्टो भड्किला र विकृत बनाउँदै गएको अवस्था हो । वैयक्तिक रुपमा संस्कृति परिमार्जित भएको पाइए तापनि वृहत उपयुक्त र विशिष्ट रुपमा संस्थागत वा राज्यस्तरमा यो भएको पाइएको छैन । यो परिमार्जनको अभावले गर्दा विपन्न वर्गका मानिसहरु अनुचित व्यय र विकराल निर्धनताको भड्खारोमा खस्दै आएका छन् ।

यति मात्र होइन, यो विकृत संस्कृति संस्कारको अनुगमनको निरन्तताले देशको प्रगतिको गति र नागरिकको सोच र विचारको धार विपरीत दिशातर्फ गएको छ ।

संस्कृतिको यथा अनुगमन वा त्यसको झन विकृत पक्षको अनुगमन भन्दा परिमार्जन र यावत सबै कुराहरुको पश्चअनुगमन भन्दा अग्रअनुगमन आत्मसात गरौं ।

संस्कृति र संस्कारहरुलाई फूललाईझैँ आत्मसात गरौं, पत्थरलाई झैँ होइन, हलुंगो रुपमा लिऔं गह्रुंगो रुपमा होइन ।