काठमाडौं । रातभर थुनिएको बागलुङको बडीगाढ १२ घण्टापछि ‘ओभर फ्लो’ भएर बगिरहेको छ । थुनिएको पानी बिहानपख बग्न थालेपछि स्थानीय जनता खुशी भएका छन् । प्राकृतिक विपद्को रुपमा निम्तिने यस्ता घटनाहरु नेपालका लागि नयाँ भने होइनन् । तथापि यस्ता प्राकृतिक प्रकोपले भिराला पाखापखेरा र नदी किनारमा बसेमा जनतालाई निकै दुःख दिने गरेका छन् ।
हिजो शुक्रवार रातमा बागलुङ जिल्लामा पर्ने बडिगाढ गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानाको तुरतुरे भन्ने ठाउँमा पहिरो खस्दा बडीगाढको प्रवाह रोकिन पुगेको थियो । नदीको बहावमा रुकावट आएसँगै मध्यपहाडी लोकमार्ग पनि बन्द भएको थियो ।
बिहानपख रातभर जम्मा भएको पानी पहिरो नाघेर बग्न थालेपछि स्थानीय वासिन्दा खोला किनारामा रहेका घरगोठ तथा खेतीवाली नस्ट हुनबाट जोगिने आशाले केही राहतको स्वास फेरेका छन् । नदी किनारामा रहेका केही घर र गोठहरुका साथै वर्षे अन्नबाली पनि डुबानमा परेको बताइएको छ ।