काठमाडौं । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाडौंको जिल्ला भेला सोमबार ललितपुरको कुपण्डोलमा सम्पन्न भएको छ । संगठन विस्तार तथा जनपरिचालन अभियान अन्तर्गत सम्पन्न उक्त भेलाले शान्ता पण्डितको अध्यक्षतममा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
नव निर्वाचित समितिको उपाध्यक्षहरुमा सुमित्रा न्यौपाने, कुमारी थापा, सुधा पन्थी, अमिरमैयाँ रञ्जितकार रहेका छन् । त्यसै गरी सचिवमा विष्णु न्यौपाने, सहसचिवमा अन्जना शाही र कोषाध्यक्षमा मधु श्रेष्ठ रहेका छन् । त्यसै गरी सदस्यहरुमा छिरिङ अम्बु शेर्पा, कल्पना थापा, विष्णुकुमारी पन्त, बन्दना भण्डारी, रुपा अधिकारी, कमला स्युठानी, ललिता दानाकुटी निर्वाचित भएका छन् । नव निर्वाचित जिल्ला समितिको सल्लाहकारहरुमा सुकुमाया शेर्पा र बैकुण्ठलक्ष्मी श्रेष्ठ रहेका छन् ।
भेला कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष लक्ष्मी मुडभरीले नेपालमा नेकपाको बहुमतको सरकारले जनताका नाममा विभन्न फौजी तथा देवानी संहिताहरु सार्वजनिक गरेर कार्यान्वयनमा लैजाँदै गर्दा महिला हिंसा र महिला विरोधी गतिविधिहरुमा झन् बढोत्तरी हुँदै गएको परिस्थितिमाथि प्रकाश पार्दै यसको सामनाका लागि महिला सचेत रुपमा संगठित हुँदै संघर्षमा अघि बढ्नुपर्ने कुरामा जोड दिएकी थिइन् ।
अध्यक्ष मुडभरीले बाहिर समाजमा महिलाविरोधी वातावरण र गतिविधि बढ्दै जानु र संहिताहरुमा अंश र बंशका बारेमा महिलालाई वास्तविक अधिकार दिन अनकनाउनुले महिला अधिकार प्राप्तिका लागि अझैं मार्ग प्रशस्त हुन नसकेको कुरामा प्रकाश पारेकी थिइन । उनले अहिले ठूल्ठूला आन्दोलनहरु उठ्न नसकिरहेको अवस्थामा जनजीविकाका साथै महिला हिंसा र महिलाविरोधी गतिविधिहरुलाई उठाएर सडकमा लैजानु पर्ने कुरामा जोड दिएकी थिइन् ।
भेलामा प्यानल प्रस्ताव प्रस्तुत गर्ने क्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सचिव शारदा महतले हिंजो आन्दोलनबाट आएका महिलाहरु नेतृत्व र नेतृहरु आज पलायन भएर संसदीय व्यवस्थामा बिलाएर सिद्धिइसकेपछि फेरि क्रान्तिकारी महिलाहरुले अघि बढ्ने संकल्प गर्नुपर्ने अवस्था सिर्जना हुन गएको यथार्थतालाई कोट्याउँदै महिला हिंसा र महिला विरोधी गतिविधिका विरुद्ध संघर्षका कार्यक्रमहरु अघि बढाउनुपर्ने कुरामा जोड दिइन् । आज महिलामैत्री कानुन बनेको प्रचार गरिइँदै छ, तर आंशिक रुपमा बने बनाइएका यी कानुनहरु पनि कार्यान्वयनमा लैजान निकै गाह्रो छ भन्दै महतले अहिले दलाल तथा नोकरशाही वर्गको शासनसत्ता स्थापना भएकाले यसले आम जनताका साथै उत्पीडितहरु र त्यसमा पनि महिलाका कुरा संबोधन गर्नै नसक्ने बताइन् ।
सहसचिव रिना गेलालले महिला हिंसा र बलात्कार महिलाको अस्तित्व र अस्मिता माथिको ठाडो चुनौती बनेको बताइन् । विगतमा लामो समयसम्म युद्ध तथा आन्दोलनको अग्रमोर्चामा रहेर महिलाहरुले नेतृत्व गर्दै आएको स्मरण गर्दै गेलालले जनयुद्धकालमा महिलाले खेलेको भूमिकामाथि प्रकाश पारिन् । तर त्यतिबेला निर्माण गरिएका महिला नेतृहरु हालको संसदीय भासमा डुबिसकेकाले अब नयाँ र सबल नेतृत्व निर्माण गर्नुपर्ने बेला आएको बताइन् । हालको महिला नेतृत्वको कार्यभार यही नै रहेको बताउँदै गेलालले अब उठ्ने र उठाइने संघर्षसँगै महिला नेतृत्व सशक्त भएर आउने बताइन् ।
भेलामा शुभकामना मन्तव्य दिंदै शिला योगीले हामी थोरै छौं वा कमजोर छौं भनेर निराशा, कुण्ठा र हीनताबोध नपाल्न उपस्थित सबैलाई आग्रह गर्दै उच्च मनोबलका साथ अघि बढ्न उत्साह प्रदान गरिन् ।
सपना नमरेकाहरु सबै एकजुट भएर अघि बढ्न आह्वान गर्दै सञ्चालक विष्णु न्यौपानेले अबको यात्रा विगतबाट पाठ सिकेर अघि बढ्न जरुरी भएको बताइन् ।
भेलाका अध्यक्ष शान्ता पण्डितले महिला हिंसाका घटनाहरुका विरुद्धमा सडकमा कडाइका साथ जानुपर्ने कुरामा जोड दिइन । उनले भनिन– हामी फरक मान्छेहरु हौं र सपना भुलेका मान्छेहरु हौं, त्यसैले हामी निरन्तर रुपमा अघि बढिरहनु पर्छ । आशावादिताका साथ हाम्रो भूमिकालाई बढाउँदै लैजाऔं ।