नवलपरासी । पत्रकार रवि पाण्डेयमाथि हातपात तथा दुर्ब्यबहार गर्ने दुईजना युवाले सार्वजनिक रुपमा माफी मागेका छन् । उनीहरुले बर्दघाट सञ्चार क्लबको अगुवाई तथा क्रान्तिकारी पत्रकार महासंघ नवलपरासी शाखाको रोहवरमा पत्रकार पाण्डेसंग आफूहरुले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका हुन ।
ई–रिक्साबाट बर्दघाट नगरपालिकाले लिएको दोहोरो करसम्बन्धि समाचारको विषयलाई लिएर ठेकेदार पक्षका युवा भेषबहादुर पुन र बिष्णु भन्ने विश्वबन्धु पोखरेलले पत्रकार पाण्डेमाथि बर्दघाट बजारमै हातपात तथा गालीगलौज गरेका थिए ।
उनीहरु दुवै जनाले हातपात तथा दुर्ब्यबहार गर्नु आफ्नो गल्ती रहेको स्वीकार गर्दै आगामी दिनमा यस्ता गल्ती नहुने समेत प्रतिबद्धता गर्दै माफी मागेका थिए । उनीहरुले माफी मागेपछि ती संस्थाका प्रमुख तथा प्रतिनिधिहरुकै रोहवरमा उनीहरुलाई गल्ती नदोहोर्याउने कागज पनि गरिएको बताइएको छ ।
तर, जिल्ला प्रहरी कार्यालय नवलपरासीमा भने उनीहरुविरुद्ध सार्वजनिक उपद्रव्याई गरेको किटानी जाहेरी कायमै रहेको छ ।
नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले सो मुद्दाको अनुसन्धान जारी रहेको र घटनास्थल सर्जमिन तथा साक्षीहरुबाट बयान लिने काम सकिएको बताउँदै घटनामा संलग्नहरुलाई कानुनबमोजिम कारवाही हुने जानकारी दिए ।