काठमाडौं । निकै हल्ला र प्रचारमा आएको पदयात्री बिरामीका नाममा ठगीको कुरा केही सत्य साबित हुन पुगेको छ । नेपालमा पदयात्रामा निस्किएका विदेशी पर्यटकहरु एक्कासी विरामी भएको र तिनका लागि रेस्क्यु र क्षतिपूर्तिको माग गर्दै ठूलो रकम हिनामिना हुने गरेको कुरा सञ्चार माध्यमहरुमा निकै आएपछि सरकारले त्यसको छानबिन समिति निर्माण पनि गरेको पनि थियो ।
जीवन बिमा र रेस्क्युको नाममा मोटो रकमको असुली गरेर खान पल्केका ट्राभल एजेन्सीहरु यसका मुख्य भागिदार रहेका छन् । यसका साथै अस्पताल, हेलिकप्टर व्यवसायी र पदयात्रीको पनि मिलेमतो देखिन्छ । यस अतिरिक्त होटल व्यवसायी पनि यसमा मुछिने गरेका छन् । उनीहरुले पखाला लगाउने औषधिको प्रयोग गरेर पदयात्रीहरुलाई बिरामी पार्ने र रेस्क्युका लागि भनेर यी सबै धन्दाहरु गर्ने गरेको देखिन्छ । यो ठगीको वार्षिक आँकडा निकाल्दा ७ प्रतिशत जति रहन गएको छानबिन समितिले बताएको छ ।
उजुरी बढ्न थालेपछि पर्यटन मन्त्रालय आफैले छानबिन समिति बनाएको थियो । उक्त समितिले रेस्क्यु अनिवार्य पनि हुनसक्छ भन्दै सरकारलाई हेलिकप्टर, डाक्टर र औषधिका साथै उपचारका सामग्रीहरु पनि प्याकेजका रुपमा प्रयोग गरिने नीति निर्माणका लागि सरकारलाई सुभाव दिएको छ ।