एशियाली खेलकुद अघि नै राष्ट्रिय खेलकुद परिषद् त्राहिमाम

एशियाली खेलकुद अघि नै राष्ट्रिय खेलकुद परिषद् त्राहिमाम

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् खेलमा आफ्ना खेलाडीहरुले जित्लान् कि नजित्लान भनेर चिन्तित हुने भन्दा पनि अबोध बालबालिका झैं हराउँछन् कि भन्ने चिन्ताले आजित हुने गरेको छ । एशियाली खेलकुदमा भाग लिएर फर्कदा यसले आफ्ना खेलाडीहरु नहराउन् भनेर अहिलेदेखि नै तयारी थालेको छ ।

यहाँ हराउने भनेको खेलमा होइन, बरु सिंगै खेलाडी नै आफै हराइदिन्छ । जापानमा खेल भयो भने उतै खेलाडी हराउँछ । दक्षिण कोरियामा खेल हुन्छ, उतै खेलाडी हराउँछ । अरब देशहरुमा खेल हुन्छ, उतै पनि खेलाडी हराइदिन्छ ।

खेलाडीहरु उतै पैसा कमाउन बसिदिने गर्दछन् । यो नेपालका लागि रोग र अभिशाप नै भएर आएको छ । यसपालाको एशियाली खेलकुदमा पनि यो भयले राष्ट्रिय खेलकुद परिषद् त्राहिमाम छ ।

यसलाई रोक्नका लागि भिसा डेस्क पनि स्थापना गरिएको थियो । तर पनि यो कार्य नियन्त्रणमा आएन । राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीका अभिभावकहरु साक्षी राखेर विदेशमा खेलहरुमा भाग लिन खेलाडीहरु लैजाने कामहरु पनि गरियो । तर पनि त्यो कामयावी भएन । इमान्दारिताको ठूलो खडेरी रह्यो । यसपाला हङ्गेरीमा जुडो खेलाडी नै पठाइएन ।

राष्ट्रिय खेलकुद परिषद् भन्ने गर्दछ– हामीसँग राम्रा र इमान्दार मान्छेहरु नै भएनन् ।