
वासिङ्टन, साउन ४ । अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा पनि ११ जनाको ज्यान गएको छ ।
स्थानीय अधिकारीले जानकारी दिए अनुसार सो दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु र अन्य पाँच जना हराएको छन् । सो डुङ्गा आँधी आएका कारण दुर्घटनामा परेको बताइएको छ । पर्यटकहरु जल सयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएको र त्यसका कारण सो दुर्घटना भएको जनाइएको छ ।
सो दुर्घटनामा मृत्यु हुनेमा केही बालबालिका पनि रहेका जनाइएको छ । यस दुर्घटनामा घाइते भएका सात व्यक्तिलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।