काठमाडौं । नारायणगढ मुग्लिङ सडक खण्ड अहिले दोहोरो जोखिममा परेको छ । भर्खरै मात्र स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको २४अैं घण्टा व्यस्त रहने यो सडक भारी वर्षाका कारण पहिरोले परिइरहेको छ । यो यस सडक खण्डको पहिलो जोखिम हो । तर अहिले अर्को उस्तै खालको उच्च जोखिम पनि देखिएको छ, त्यो हो सडक भासिदो प्रक्रिया ।
घण्टाघण्टामा जाने पहिरोलाई मध्यनजर गरेर दर्जनौ डोजर तथा एक्स्क्याभेटर सञ्चालन गरिए तापनि अब सडक त्रिशुली र नारायणी नदीतिर भासिन थालेको छ । आफै त कष्टकर यात्रा त्यसमा पनि अब माथिबाट खसेको पहिरोले पुरिने हो कि सडक नै भासिएर नदीमा बगिने हो भन्ने त्रासले चालक तथा यात्रुहरुलाई त्राहिमाम बनाएको छ ।
केही समय पहिले जुगेडीको नजिकै ५० मिटर सडक भासिएको थियो । यसलाई माटो, गिट्टी र ढुङ्गा थपेर सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । तर हालै मात्र नारायणी तथा त्रिशुली नदीतिर सडक भासिदै र बग्दै गर्न थालेका छन् । हाल ५ मिटर चौडा र २० मिटर लामो सडकको भाग त्रिशुलीतिर भासिएपछि यसले धेरैलाई सोच्ने बनाएको छ । यात्राका क्रममा ससाना भासिएका डिलहरु तथा कतैकतै बीच सडकमा पनि खाल्डा र प्वालहरु देखिए पनि यति ठूलो मात्रामा सडक भासिएको यो पहिलो पटक हो ।
हालै मात्र आएर सडक यसो हुनुमा भौगर्भिक सर्भे पनि नगरिएको र त्यसका लागि सरकार तथा सम्बन्धित पक्षले पनि चासो नदेखाएको भनी आलोचना हुन थालेको छ । दीगोपनालाई ख्याल राख्ने भन्दा पनि देखाउने र राजनीतिक माहौल बनाउने, भोट बटुल्ने र सस्तो वाहवाही कमाउने ध्याउन्नमा नेपालको सरकारको ध्यान केन्द्रित हुने गरेको छ । विज्ञहरु भन्छन्– सामान्य धारणा बनाएर काम थालनी गर्ने, ठेक्कापट्टामा दिएर कमिसन हसुर्ने, आफ्ना मान्छे पोसाउने तर भौगर्भिक सर्भे जस्तो महत्वपूर्ण कुरामा ध्यान नपुर्याउने रोग नेपालको विकासे विरासत नै बन्न गएको छ ।
यो भनेकोे तल्लो तटीय र उपल्लो तटीय भूबनोटबीचको अन्तर र अन्तरसम्बन्धलाई नबुझ्नु पनि हो ।