बाढीपहिरोको उच्च जोखिममा नेपाल : बिग्रदो उपल्लो तटीय र तल्लो तटीय भूगोलको अन्तरसम्बन्ध

प्रकाशित मिति : २०७५ असार २७

काठमाडौं । बितेका एकदुई वर्षदेखि नै नेपाल बाढी पहिरोको उच्च जोखिममा रहेको छ । नेपालको तल्लो तटीय भाग तराई डुबानमा पर्ने र उपल्लो तटीय भाग पहाड तथा हिमालमा निकै भूक्षय हुने गरेको छ । भूगर्भविद्हरु यो बिग्रदो तल्लो तटीय तथा उपल्लो तटीय सम्बन्धलाई बेलैमा ख्याल पुर्याउनु पर्ने बताउँछन् ।

यदि यो भौगर्भिक अन्तर सम्बन्धबारे बेलैमा ख्याल गरिएन भने नेपालका नदीनाला सुक्ने र हिमाल पनि छिट्टै पग्लने संभावनालाई केही गरेपनि दीर्घजीवी बनाउन नसकिने उनीहरुको तर्क छ । उनीहरुका अनुसार साधरण धारणा बनाएर मात्र बसियो भने त्यसले दीर्घकालीन रुपमा ठूलो समस्या खडा गर्ने छ ।

सबैको अनुमान र तर्क के रहन्छ भने यसपालीको भारी वर्षाले तराइ क्षेत्र डुबान गरायो । तर त्यसमा भारी वर्षा मात्र कारक छैन । भारी वर्षाका कारण बगेर गएको माटो, ढुङ्गा, बालुवा, काठपात आदि समथर जमीन तराइमा थुप्रन पुग्छ र यसले पानीको सतहलाई माथि ल्याएदिन्छ । यस कारणले घर, जग्गा र जमीन डुबानमा पर्छ ।

केही वर्ष पहिलेदेखि नेपालमा विना भौगर्भिक सर्भे पानीका ठूलाठूला बाँधहरु बाँध्ने, बिना इञ्जिनियरिङ ठूलाठूला बाटा र सडकहरु निर्माण गर्ने, खोरियाहरु खन्ने, बिना कान्ला खेतबारीमा खेती गर्ने तथा जंगल फँडानी गर्नुका साथै जहाँ पायो त्यहीबाट ढुंगाका खानी निकाल्ने आदि कामले यसमा सहयोग पुर्याइरहेको छ ।

मानिसहरुमा रहेको पुुरानो सोचले पनि यसलाई बढावा दिइरहेको छ । प्राकृतिक स्रोतसाधनहरुको असिमित दोहन, दुरुपयोग र खेर वा विनास गर्ने कामले पनि बाढीपहिरोलाई निकै प्रेरित गरिरहेको छ । देशभर बाटो पुर्याउने नाममा निकालिएको माटो, पल्टाइएका ढुंगा र फडानी भएका जमीन उच्च वर्षाका कारणले पहिरो गई खोलै भरिएर बग्ने गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

तराइमा गरिने तटबन्धनका कामले बगाएर ल्याइएका यी ढुंगामाटो र काठपातले ती तटबन्धन क्षेत्रहरु पुरिदिने काम गरेका छन् । यसले समथर मैदानमा रहेका खेतीबाली र घरजग्गालाई डुबानमा पारिदिएको छ ।

अर्को कुरा, भारतले आफूतिरको ठूलो भूभाग सिञ्चाइका लागि नेपालको दशगजा क्षेत्रभित्र बाँध बाँधेर ठड्याइएको उच्च बाँधले यो डुबानको प्रक्रियालाई गुणात्मक रुपमा बढाएर लगेको छ ।

यसका लागि सरकारी संयन्त्रहरु परिचालन पनि गरिएका छैननन् । साथै, यसबारेमा सरकारको दीर्घकालीन तथा अल्पकालीन नीतिगत सोच र कार्यक्रम पनि छैन । नागरिक सचेतनाका अभियान र कार्यक्रमहरु पनि बनाइएका छैनन् ।

यसका साथै बाढीपहिरो, भूक्षय र डुवान तथा कटानका समस्याहरुको समाधान वा मुकाबलाका लागि पूर्व तयारी पनि छैन । यसै कारणले नेपाल बाढीपहिरो तथा भूक्षय र कटान, डुवानको उच्च जोखिममा रहँदै आएको छ ।