नयाँ व्यापार साझेदारको खोजीमा अमेरिका

प्रकाशित मिति : २०७५ असार २७

 

 

 

 

 

 

 

 

 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नयाँ व्यापार साझेदारहरुको खोजीमा छन् । उनी अहिले सबैभन्दा बढी युरोपियन व्यापार साझेदारसँग टाढिएका छन् । एकमहिना अघि क्यानडामा भएको जी–७ को बैठकमा ट्रम्पले उनका पुराना साझेदारहरुका अलावा नयाँ साझेदारहरु पनि प्रस्तावित गरेको खुल्न आएको छ । उनले गरेका प्रस्तावित नयाँ साझेदारहरुमा रसियाको चर्चाले क्यानडा सबैभन्दा बढी चिढिएको थियो ।

अमेरिकी राष्ट्रपति जी–७ को वैठक नसकिँदै हस्ताक्षर पनि नगरेर शिखर सम्मेलन कक्षबाट बहिरिएका थिए । बाहिरिएपछि उनले सार्वजनिक रुपमा आलोचना गर्दै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई स्यालजस्तो ‘धूर्त र कायर’ भन्न पनि भ्याएका थिए । जवाफमा जस्टिन ट्रुडोले ट्रम्पलाई ‘रङ्ग न ढङ्गका हाउडे’ भनी कडा टिप्पणी गरेका थिए ।

ट्रम्प अहिले ल्याटिन अमेरिका तथा एशियाका आफ्ना विरोधीहरुसँग हात मिलाउँदै नयाँ मेलमिलापका कुराहरु लिएर हिंडिरहेका छन् । उनले युरोपेलीहरुले सोचेको र अनुमान गरेको भन्दा अलि बढी नै हिमचिम ल्याटिन अमेरिकी तथा एशियाली देशहरुसँग गर्न थालेपछि भने उनका हालसम्मका युरोपीय व्यापार साझेदाररुले नरम भाषा प्रयोग गर्न थालेका छन् ।

ट्रम्पलाई अलि नजिक ल्याउने बिग्रिएको सम्बन्ध सुधार गर्ने हेतुले ती युरोपेलीहरु भन्छन्– ‘ट्रम्पका लागि युरोपीयहरु भन्दा अरु मित्रहरु हुनसक्ने छैनन्, किनकि युरोपीयहरुले अमेरिकासँग सहकार्य र साझेदारी गर्ने क्रममा आफ्नो ज्यानको समेत् आहुति दिएका छन् । एकअर्काका लागि रगत बगाएको यो सम्बन्ध टाढिने सम्भावना निकै कम छ ।’

देख्न र देखाउन लागि मात्र उत्तर कोरियासँग भएको ट्रम्पको वार्ता विशेष गरी आन्तरिक रुपमा चीन र रसियासँग जोडिएको थियो । अमेरिकाका त्यति व्यस्त राष्ट्रपति वार्ता हुनुभन्दा दुई दिन पहिले नै किन हतारमा सिंगापुर पुगेका थिए ? यो लुकाएर लुकाइने विषय पनि त होइन ।

पछिल्लो चरणमा अमेरिकाले आफ्ना साझेदारलाई एक शब्द पनि नसोधी अमेरिका भित्रिने आल्मुनियम तथा स्टिल आयातमा एकलौटी रुपमा व्यापार कर लगाएपछि ट्रम्पका युरोपीय साझेदारहरु जिल्लिएका थिए । यसका साथै व्यापार कर चिनियाँ सामानहरुमा पनि लगाइएपछि चीनले पनि अमेरिकी सामानहरुमा व्यापार कर लगाएको थियो । त्यसपछि सबै पुँजीवादी मुलुकहरु त्यसमा पनि दुई विपरीत ध्रुवका चीन र अमेरिकाबीच व्यापार युद्ध हुनसक्ने सामान्य अनुमान सबैमा थियो ।

सञ्चार माध्यमहरुमा चीन र अमेरिका बीचमा व्यापार युद्ध चल्दै गरेको भनी व्यापक टीकाटिप्पणी गरिए पनि युरोपीयहरु भने चीन, रसिया र अमेरिकाको बीचमा त्रिपक्षीय व्यापार सम्बन्ध बन्न सक्ने संभावना पनि उत्तिकै बलियो भएको बताउन थालेका छन् ।