विश्वको चौथो महँगो खेलाडी बन्दै रोनाल्डो यूभेन्ट्स भित्रिए

को हो त विश्वकै महंगो खेलाडी ?

प्रकाशित मिति : २०७५ असार २७

काठमाडौं, असार २७ । विश्वको प्रसिद्ध र स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए । यो सँगै उनको रियलसँगको ९ वर्षे करिअरको अन्त्य भएको छ ।

२००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४५१ गोल गर्दै कीर्तिमान राखे । यस्तै उनले पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई चार पटक र लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जिताए ।

रोनाल्डो ९९.२ मिलियन पाउन्डमा चारवर्षका लागि यूभेन्ट्ससँग अनुबन्धित भएका हुन् । योसँगै उनी विश्वको चौथो महँगो खेलाडी बनेका छन् ।

विश्वको सबैभन्दा महँगो खेलाडी ब्राजिलका नेमार हुन् । गत वर्षको अगष्टमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले उनलाई अनुबन्ध गर्न बार्सिलोनालाई २ सय मिलियन पाउन्ड तिरेको थियो ।

सँगै पीएसजीले केलियन एम्बाप्पेलाई १ सय ६६ मिलियन पाउन्डमा गतवर्षकै जुलाईमा अनुबन्धित गर्दै विश्वको दोस्रो महँगो खेलाडी बनाएको थियो ।

बार्सिलोनाले लिभरपुलबाट यसै वर्षको जनवरीमा फिलिप्पे कौटिन्होलाई १ सय ४२ मिलियन पाउन्डमा अनुबन्धित गरेपछि उनी विश्वको तेस्रो महँगो खेलाडी बनेका थिए ।

रोनाल्डो विश्वको चौथो महँगो खेलाडी बन्नुका साथै क्लब कीर्तिमानी रकममा यूभेन्ट्स गएका हुन् । यसअघि यूभेन्ट्सले ७५.३ मिलियन पाउन्ड तिर्दै गोन्जालो हिगुइनलाई नोपोलीबाट २०१६ जुलाईमा भित्र्याएको थियो ।

यूभेन्ट्सले रोनाल्डोलाई अगष्टमा प्रि सिजनमा अमेरिकामा हुने इन्टरनेशनल च्याम्पियन्स कपमा मैदान उतार्ने तयारी गरेको छ ।