काठमाडौं, चैत २ । प्रादेशिक सरकारहरु बने पछि केन्द्रीय सरकार सानो आकारको बनाउने घोषणा गरेको ओली सरकारले संघीय समाजवादी फोरम र राजपालाई समेत भागबन्डा मिलाउन मन्त्रालय विस्तारको गृहकार्यमा जुटेको छ । प्राप्त समाचार अनुसार सरकारले तीन मन्त्रालय थप गर्ने गृहकार्य गरिरहेको छ ।
सरकारले ३० मन्त्रालयलाई घटाएर तीन साताअघि १७ मन्त्रालय बनाउने निर्णय गरेको थियो तर संघीय समाजवादी फोरमसँगको पटकपटक छलफलका क्रममा भागबन्डा नमिलेपछि सरकार तीन मन्त्रालय थप्न वाध्य भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच पटकपटक छलफल गरिरहेका छन् । बिहीबार राति १२ बजेसम्म मन्त्रिपरिषद् बैठक बसेको थियो । सो क्रममा पाँचवटासम्म मन्त्रालय टुक्राउने बारेमा छलफल भएपनि तीन वटा मात्र थप गर्न निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्राएर छुट्टै आपुर्ति मन्त्रालय थप्ने गृहकार्य गरेको छ । त्यस्तै भूमि, कृषि सहकारीबाट कृषि तथा सहकारी मन्त्रालय बनाउने सरकारको तयारी छ । शिक्षा, विज्ञान, प्रविधि, युवा तथा खेलकुद मन्त्रालय टुक्राएर युवा तथा खेलकुद मन्त्रालय छुट्टै बनाउने सरकारको गृहकार्य रहेको छ ।
भागबन्डा मिलाउन मन्त्रालय टुक्राउन नहुने विज्ञहरुले सुझाव दिएका छन् । धेरै जसो अधिकार प्रदेश र स्थानीय तहमा गइसकेको भन्दै केन्द्रमा सानो मन्त्रिपरिषद् हुँदा राम्रो हुने प्रशासन विज्ञले सुझाएका छन् ।
फोरमले गृह, परराष्ट्र, सञ्चार र रक्षाबाट एक, भौतिक, सहरी विकास, स्वास्थ्य, कृषिमध्येबाट एक र सामान्य, वातावरण, भूमिसुधारमध्येबाट एक मन्त्रालयबाट दिनुपर्ने अडान राखेको छ।
संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। उसले दुई मन्त्रालय मात्र पाउने संभावना रहेको बुझिएको छ।






























