भृकुटीमण्डपमा जुत्ता चप्पलको बृहत मेला सुरु

भृकुटीमण्डपमा जुत्ता चप्पलको बृहत मेला सुरु

काठमाडौं, चैत २ । जुत्ता चप्पल तथा छालाजन्य उत्पादन तयार पार्ने नेपालका ५० भन्दा बढी सबै उत्कृष्ट ब्राण्डहरुको सहभागिता रहेको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको ठुलो मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । यस मेलामा १४० भन्दा बढी स्टलहरु रहेको छ ।

मेलामा ग्राहकहरुले आफ्नो चाहनाअनुसारको जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरु अवलोकनका साथै छानीछानी खरिद गर्न सक्ने आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल तथा नेपाली जुत्ता घरले बताएको छ । मेलालाई ३ नम्बर प्रदेशका अर्थमन्त्री कैलाश ढुङ्गेल उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले फुटवेयर क्षेत्रले उल्लेख्यरुपमा रोजगारी सिर्जना गर्न सहयोग र्पुयाएकोमा प्रशंशा गरे । साथै सरकारले कच्चा पदार्थमा छुट दिन सके अझै यो क्षेत्र फस्टाउन सक्ने विश्वास व्यक्त गरे । यसका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मेला आयोजक संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रविन कुमार श्रेष्ठले उत्पादनको ८० प्रतिशत उत्पादन ३ नं. प्रदेशबाटै भइरहेको अवस्थामा आउने दिनमा राज्य र प्रदेश सरकारले थप प्रोत्साहनका कार्यक्रम ल्याउनेमा विश्वस्त रहेको बताए । उनले निजामती कर्मचारी, सेना, पुलिसको प्रयोगमा स्वदेशी उत्पादनका जुत्ताहरुको प्रयोग बढाउन सरकारले सहयोग गर्नसके स्वदेशी उत्पादकहरुलाई हौसला मिल्ने बताए ।

मेलाको सहआयोजक नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले विगतमा २–४ वटा नीजि उत्पादकहरुले साना तिना मेला गर्ने गरेको भए पनि अब भने एकिकृत रुपमा फुटवेयर बिजनेस एक्स्पोकोरुपमा बृहत मेला सञ्चालन भएको बताए ।

मेलामा ५ करोडभन्दा बढीको कारोबार हुने र २ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । मेलामा बालबालिकादेखि वृद्धवृद्धाहरुसम्मका लागि हुने जुत्ता चप्पलहरु राखिएको आयोजकले जनाएको छ ।