काठमाडौं, १९ पुस । लिग लिडर म्यानचेष्टर सिटी र टोटनहम हट्सपरले प्रिमियर लिगमा जित हात पारेका छन् । सिटीले घरेलु मैदानमा वाटफोर्डलाई ३–१ ले पराजित गर्दै फेरी १५ अंकको अग्रता बनाएको छ ।
सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक एक गोल गरे भने वाटफोर्डका क्रिस्टियन कावासेलेले एक आत्मघाती गोल उपहार दिए । वाटफोर्डका लागि आन्द्रे ग्रे ले सान्त्वना गोल फर्काए ।
जितपछि २२ खेलबाट सीटीले ६२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको छिमेकी युनांइटेडको समान खेलबाट ४७ अंक छ ।
यस्तै टोटनहम स्वान्सी सिटीलाई २–० ले पराजित गर्दै पाँचौ स्थानमा उक्लेको छ । टोटनहमका लागि फर्नान्डो लेरेन्टो र डेले अलीले गोल गरे । जितपछि टोटद्दहमले २२ खेलबाट ४० अंक जोडेको छ ।
लिगकै अन्य खेलमा क्रिस्टल प्यालेसले साउथह्याम्पटन तथा वेष्टह्याम युनाइटेडले वेष्ट्रोमलाई समान २–१ ले पराजित गरेको छ ।
लिग अन्तर्गत आज राती लण्डन डर्बीमा तेस्रो स्थानको चेल्सी तथा छैटौँ स्थानको आर्सनल भिड्दैछन् ।