धनकुटा, ४ पुस । उपभोक्तालाई सहज तथा सुलभरुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारी लगानीमा पुर्वका विभिन्न पहाडी जिल्लामा खोलिएका अधिकांश सहकारी पसल बन्द भएका छन् ।
यस्ता पसल बन्द भएपछि कोसी पहाडी जिल्लामा मात्र सरकारले लगानी गरेको करिब पौने २ करोड बजेट बालुवामा पानी सरह भएको छ । कोसी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका सहकारी पसल मध्ये ९५ प्रतिशत बन्द भएका छन् ।
नगन्य रुपमा सञ्चालित पसल पनि बन्द हुने अवस्थामा रहेको डिभिजन सहकारी कार्यालय धनकुटा स्रोतले जनाएको छ । अनुगमन र व्यवस्थापनको कमजोरीका कारण यस्ता पसलका लागि निकासा गरिएका रकम दुरुपयोग भएको स्रोतको भनाई छ ।
साविकका प्रत्येक नगरपालिका तथा गाविसमा एक पसल रहने गरी व्यवस्था गरिएपनि अछिल्लो अवस्थामा अधिकांस बन्द भइसकेका छन् । धनकुटामा मात्र रहेका ३६ यस्ता पसल मध्ये हाल अधिकांस बन्द भएको कार्यालयले जनाएको छ । यस्तै तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा रहेका १ सय २० यस्ता सहकारी पसल मध्ये नगन्य मात्र सञ्चालनमा छन् ।