विश्वका प्रमुख संशोधनवादी गद्दारहरू

विश्वका प्रमुख संशोधनवादी गद्दारहरू

संशोधनवादको जन्म र विकास

संशोधनवाद भनेको पुँजीवाद हो । यसको स्रोत व्यक्तिवाद, निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवाद हो । व्यक्तिवाद भनेकै पुँजीवाद र साम्राज्यवाद हो । वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष तथा सर्वहारा अधिनायकत्वको परित्याग र माक्र्सवादका आधारभूत सैद्धान्तिक मान्यताहरूको तोडमरोड तथा अपव्याख्या गर्नु नै संशोधनवाद हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण सङ्घर्ष चल्दै आएको छ ।

संशोधनवादको सङ्घर्ष पहिलो इन्टरनेसनल कालमा अराजकतावाद र अवसरवादका विरुद्ध परिलक्षित रहेको थियो भने दोस्रो अन्तर्राष्ट्रिय कालमा मुख्यतः पुँजीवादको साम्राज्यवादमा परिणत भइसकेपछिको अवस्थामा खुलेर प्रकट भएको थियो । त्यस्तै, तेस्रो अन्तर्राष्ट्रियदेखि यता माक्र्सवाद–लेनिनवाद–माओवादको विकाससितै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवाद समेत विभिन्न रूपमा प्रकट हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्रकट हुँदै आएका सबैखाले संशोधवादको प्रभाव नेपालको कम्युनिस्ट आन्दोलन पनि पर्दै आएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा अवसरवाद, दक्षिणपन्थी संशोधनवाद, आधुनिक संशोधनवाद र नवसंशोधनवादको रूपमा प्रकट हुँदै आएको छ । यस आन्दोलनको पछिल्लो कडीको रूपमा एमाओवादीका नेता प्रचण्ड–बाबुराममा प्रकट भएको नवसंशोधनवाद सबैभन्दा खतरनाक प्रवृत्तिका रूपमा प्रकट भएको छ र यसले वर्तमान नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई समेत गम्भीर क्षति पु¥याइरहेको छ । नेपालमा माक्र्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण दुईलाइन सङ्घर्ष तथा विचारधारात्मक अन्तर्सङ्घर्ष चल्दै आएको छ र यसले नेपाली कम्युनिस्ट आन्दोलनमा टुटफुट पैदा गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समृद्ध ऐतिहासिक अनुभव र तथ्यहरूमा आधारित भएर अर्थात् दुई गुणात्मक ढङ्गले भिन्न सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादको विकास र शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवादको प्रतिक्रियावादमा पतनको सारतत्वमाथि ध्यान दिनु आवश्यक हुन्छ ।

माक्र्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो यसका तीन सङ्घटक अङ्ग छन् । ती हुन्– दर्शन, राजनीतिक, अर्थशास्त्र र समाजवाद । माक्र्सवादको दर्शन द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवाद हो । मानव जातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तर्गत वर्ग– वर्गसङ्घर्ष, पार्टी, राज्यसत्ता, सर्वहारा अधिनायकत्व र ती सबैको विलुप्तिको वैज्ञानिक अध्ययन गरिन्छ । सर्वहारा क्रान्तिको यो वैज्ञानिक सिद्धान्त तमाम प्रकारका आदर्शवाद, अधिभूतवाद र कल्पनावादका विरूद्ध खडा छ । यो वैज्ञानिक सिद्धान्तसित सामना गर्न सक्ने क्षमता आज कसैसँग छैन । यो वैज्ञानिक र गतिशील सिद्धान्त भएकोले आज यो माक्र्सवाद–लेनिनवाद र माओवादका रूपमा विकसित भएको छ । यहाँनेर बुझ्नैपर्ने कुरा के हो भने माक्र्सवादको संशोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो । माक्र्सवादको सैद्धान्तिक विजयको कारण आफ्नो पृथक अस्तित्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू माक्र्सवादको वैज्ञानिक धाराभित्र जब घुस्न पुग्छन्, त्यो बेला संशोधनवादको जन्म हुन्छ । माक्र्सवादको जन्मको लगत्तै पु्रंधो जस्ता अवसरवादीहरूको जन्म भयोे । माक्र्सवादलाई पुरानो भइसकेको जडसुत्रवादी सिद्धान्त बताउँदै यसको संशोधन र पुनर्विचारको प्रस्तावना पेस गर्ने पहिलो व्यक्ति बर्नस्टाइन हुन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपन्थी, उग्रपन्थी एवम् मध्यपन्थी रूपहरू विभिन्न कालखण्डमा देखापर्दै आएका छन् र यिनमा दक्षिणपन्थी संशोधनवाद–नवसंशोधनवाद नै अधिक विकृतिपूर्ण एवम् खतरनाक रहिआएको छ । संशोधनवादको शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–नवसंशोधनवाद–प्रतिक्रान्तिको बाटो हुँदै प्रतिक्रियावादका रूपमा पतन हुन पुगेको छ । यी सबैखाले संशोधनवाद अन्तर्राष्ट्रिय परिघटनाका परिणाम हुन् जसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । हरेक देशमा क्रान्तिका विशेषतासँगै सबैखाले संशोधनवादहरूले पनि आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्दछन् । सामाजिक र सैद्धान्तिक विशेषताहरू सहित संशोधनवादको जन्म हुने गर्दछन् । ऐतिहासिक तथ्यहरूले के पुष्टि गरेका छन् भने संशोधनवादको सामाजिक स्रोत निम्न पुँजीवाद र साम्राज्यवाद हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ट सम्बन्ध रहँदै आएको छ ।

साम्राज्यवादको जन्म इङ्ल्यान्डबाट भएको होे । जब साम्राज्यवाद अन्य देशहरूमा फैलँदै गयो, त्यसको प्रभावको कारण ती देशहरूमा पनि संशोधनवाद फैलिन पुग्यो । जर्मनीको लासाल र लासालवादीहरूमा पनि अनेकौँ अवसरवादी विकृतिहरू पैदा हुँदै गएको कुराबारे माक्र्स–एङ्गेल्सले उद्घाटन गर्नुभएको छ । सैद्धान्तिक दृष्टिले हेर्दा संशोधनवादको वैचारिक स्रोत निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवादी विचारधारा नै हो । संशोधनवादले माक्र्सवादका सङ्घटक अङ्गको बारेमा दर्शन, राजनीति अर्थशास्त्र र समाजवाद तीनवटै सङ्घटक अङ्गलाई संशोधित एवम् विकृत पार्दै आउने काम गरेको छ । दर्शनका क्षेत्रमा कान्टवाद, पत्यक्षवाद, अनुभववाद, व्यावहारिकतावाद, सङ्कल्पवाद, भँडुवावाद, विकासवाद र नानाथरिका विचारपन्थी सारसङ्ग्रहवादलाई आत्मसात गर्दै आएको छ । द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादका विरूद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोषण गर्ने गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पुँजीवादी सङ्कट तथा मूल्य सिद्धान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु, नियोजित अर्थतन्त्रका विरूद्ध अराजक स्वतः स्फुर्तवादी उत्पादक शक्तिको सिद्धान्त अँगाल्नु यसका मूलभूत पक्ष हुन् । समाजवादको क्षेत्रमा यसले वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तको विरूद्ध वर्गसमन्वय पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दछ र मजदूर आन्दोलनलाई सुधारवादी, संसदवादी भासमा फसाउने यसका मूल विशेषता हुन् । हामीले प्राप्त गरेको ज्ञान के हो भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहारा क्रान्तिको सिद्धान्तको विकास जसरी माक्र्सवाद–लेनिनवाद–माओवादका तीन गुणात्मक चरणमा भएको छ, त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–नवसंशोधनवाद–प्रतिक्रियावादका रूपमा विकृत हुन पुगेको छ ।

सर्वहारा क्रान्तिको विकास वर्ग दुश्मनहरू, उनीहरूको विचारधारा तमाम अराजकतावादी तथा अवसरवादीहरू र नवसंशोधनवादीका विरूद्धको भीषण वर्गसङ्घर्ष र अन्तरसङ्घर्षको दुईलाइन सङ्घर्षका बिचबाट निकै जटिल, सङ्गीन र ओजपूर्ण रहेको छ । माक्र्सवाद इतिहास विज्ञानको महान्् खोज थियो । वर्गसङ्घर्षको सर्वहारा अधिनायकत्वमा विकास र साम्यवादको स्थापना त्यसको खोजको केन्द्रीय कडी सर्वहारावर्गको अधिनायकत्व थियो । अराजकतावादीहरूले माक्र्सवादको त्यसै केन्द्रीय कडीमाथि प्रहार गरेका थिए । लासालवादीहरूको जोड त्यसै केन्द्रीय कडीका विरूद्ध स्वतन्त्र राज्यको पक्षपोषण गर्नु र स्वतन्त्रता, समानता, न्याय तथा भातृत्वका पुँजीवादी नारालाई अलङ्कृत गर्नु थियो । त्यसका निम्ति लासालवादीहरूले पार्टीमा विजातिय तत्वलाई भर्ने र पार्टीको वैचारिक बन्ध्याकरण गर्ने कुरामा पुरा जोड दिएका थिए । माक्र्स–एङ्गेल्सले ती सबका विरूद्ध लड्दै माक्र्सवादी सिद्धान्त, रणनीति तथा कार्यनीति र त्यसको संवाहक पार्टीलाई समेत स्थापित गर्नुभएको थियो । दोस्रो अन्तर्राष्ट्रिय कालमा बर्नस्टिनले तमाम काल्पनिक तथा अवसरवादी विचारहरूलाई समेट्दै तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरूद्ध वर्गसमन्वय, बालिक मताधिकार, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्तको वकालत गर्दै शास्त्रीय संशोधनवादको जग बसालेको थियो । यस अवधिमा अर्थवाद, मेन्से विकवाद, विर्सजनवाद, काउत्स्कीवाद लगायतका संशोधनवादका विविध रूपहरू प्रकट भएका थिए । गद्दार काउत्स्कीले बर्नस्टाइनको पदानुशरण गर्दै सर्वहारा अधिनायकत्व र बल प्रयोगको सिद्धान्तका विरूद्ध शुद्ध जनवादको पक्षपोषण गरेको थियो र उसले साम्राज्यवादलाई प्रगतिशील समेत बताएको थियो ।

आधुनिक संशोधनवादको सुत्रपात मुख्यतः खु्रश्चेवबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसङ्घर्ष सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र सङ्घर्षको विरूद्ध भीषण हमला बोल्दै रूसमा पुँजीवादको स्थापना ग¥यो । खु्रश्चेवदेखि मिखाइल गोर्भाचोभसम्म आउँदा आधुनिक संशोधनवाद, सामाजिक फासीवादका रूपमा गिर्न पुग्यो । पछिल्लो अवधिमा आउँदा कामरेड माओत्सेतुङ्ले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गहन अध्ययन र अर्कोतिर स्वयम् चीनमै जटिल बन्दै गइरहेको पुँजीवादको पुनस्र्थापना रोक्नको लागि सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरी महान्् १० बर्से सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो । चीनको नयाँ जनवादी क्रान्तिदेखि आजसम्म आइपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीनवटै क्षेत्रमा माक्र्सवाद–लेनिनवादको तेस्रो गुणात्मक शिखरका रूपमा माओवादको विकास भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन यसरी माक्र्सवाद र संशोधनवादको भीषण द्वन्द्वको बिचबाट गुर्जंदै आउँदा क्रान्ति र प्रतिक्रान्तिका जित र हारका अनेकौँ घट्नाहरू घटिसकेका छन् । सारमा संशोधनवादीहरूले क्रान्तिकारीहरूलाई उग्रवादी, आतङ्कवादी, जडसुत्रवादी आदि भनेर बदनाम मात्र गरेका छैनन्, भीषण भौतिक हमलासम्म गर्न पुगेका छन् । वास्तवमा संशोधनवादीहरू बर्नस्टाइन, काउत्स्की र खुश्चेवभन्दा पनि अझै तल गिरेर ठाडै संसदीय प्रजातन्त्र, पुँजीवादी संसद र बहुलवादलाई आदर्श मान्दै युरो कम्युनिज्मको पतीत सिद्धान्त समेत अङ्गाल्न पुगेका छन् र आज संशोधनवाद नवसंशोधनवादमा विकास गरेर नाङ्गो पुँजीवादमा समेत गिर्न पुगेको छ ।
हामीले संञ्चालन गर्दै आएको वर्गसङ्घर्ष, अन्तःसङ्घर्ष र दुईलाइन सङ्घर्षको अध्ययन र अनुभवबाट के निष्कर्षमा पुग्न सकिन्छ भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्रको माक्र्सवाद र संशोधनवाद बिचको यो भीषण लडाइँँ आज आएर एकातिर माक्र्सवाद–लेनिनवाद–माओवाद र अर्कोतिर शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–प्रतिक्रियावाद बिचको लडाइँँमा अभिव्यक्त हुन पुगेको छ । एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको माक्र्सवाद र संशोधनवादका बिचको लामो ऐतिहासिक लडाइँका समृद्ध अनुभव एवम् शिक्षाको सार हो भने अर्कोतिर त्यस लडाइँको माक्र्सवाद र प्रतिक्रियावाद बिचको लडाइँमा रूपान्तरणको द्योतक पनि हो । यसरी आज माक्र्सवाद र नवसंशोधनवाद बिचको सङ्घर्ष सारमा भन्नुपर्दा माओवाद र प्रतिक्रियावाद बिचको भीषण सङ्घर्षमा बदलिन पुगेको छ ।
माक्र्सवादको उदयले विश्व मानव समाजमा ठुलो क्रान्ति ल्यायो र हलचल नै पैदा गरिदियो तर माक्र्सवादको जन्मसँगै यसको विरोधी धारा दक्षिणपन्थी संशोधनवादको पनि जन्म र विकास भयो, माक्र्सवादको जुन लेनिनवाद र माओवादमा विकास हुन पुग्यो । त्यसैगरी संशोधनवादले पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद र प्रतिक्रियावादमा गुणात्मक रूपमा विकास गर्न पुग्यो । संशोधनवादको स्रोत साम्राज्यवाद, पुँजीवाद र निम्न पुँजीवाद हो, यसलाई लेनिनले अन्तर्राष्ट्रिय परिघटनाको रूपमा संंश्लेषण गर्नुभएको छ । यस लेखमा पहिले माक्र्सवादी बनेर माक्र्सवादी धाराभित्र घुसेका र पछि संशोधनवादी बनेर माक्र्सवादका कट्टर हिमायती मात्र होइन, प्रतिक्रियावादमा पतन भइसकेका प्रुंधोदेखि लिएर ल्युशाओ ची, देङ शाओपिङसम्मका संशोधनवादी गद्दारहरूको बारेमा सामान्य जानकारी गराउने प्रयत्न गरिएको छः

पिचेर जोसे प्रुधोँ (सन् १८०९–१८६५)

प्रुधोँ विख्यात फ्रान्सीसी पत्रकार, अर्थाशास्त्री र एवम् समाजशास्त्री थिए । सुरूमा प्रुधोँ माक्र्सवादका कट्टर समर्थक थिए । माक्र्स र एङ्गेल्सको पहलकदमीमा सन् १८६४ मा प्रथम अन्तर्राष्ट्रियको गठन भएको थियो । प्रुधोँ त्यसको अध्यक्षमा चुनिएका थिए । पछि प्रुधोँ समाजवादी नभएर एक अराजकतावादीका संस्थापक तथा माक्र्सवादका प्रमुख आलोचक बने । माक्र्सवादलाई अराजकता फैलाउने पहिलो व्यक्ति प्रुधोँ नै थिए । उनी साम्यवादी सिद्धान्तका कट्टर विरोधी र यसलाई उनले कमजोरीको शोषण मानेका थिए । उनले साम्यवादलाई काल्पनिक मानेका छन् । प्रुधोँले माक्र्सवादलाई “गरिबको दर्शन” भनेका छन् भने माक्र्सले प्रुधोँको दर्शनलाई “दर्शनको दरिद्रता” भन्नुभएको छ । प्रुधोँ राज्यशक्तिका विरोधी र स्वतन्त्रताका प्रबल समर्थक रहेका छन् । अन्तिममा प्रुधोँ प्रतिक्रियावादमा पतन हुन पुगेका छन् ।

लुई ओग्युस्टिन ब्लाङ्की (सन् १८०५–१८८१)

ब्लाङ्की फ्रान्सीसी युरोपियाई समाजवादी तथा असाधारण क्रान्तिकारी थिए र उनले फ्रान्सको सन् १८३० र १८४८ को क्रान्तिमा भाग लिएका थिए । उनलाई दुईचोटि मृत्युदण्डको सजाय सुनाइएको थियो । उनको आधा जीवन जेलमा नै बितेको थियो । उनले षड्यन्त्रको राजनीतिलाई आफ्नो विचार बनाएका थिए । उनले पुँजीवादको विरोध र सामाजिक क्रान्तिको समर्थन गरेका थिए । षड्यन्त्रको उनको कार्यनीति गलत भएकाले ब्लाङ्कीपन्थीहरूले असफलता भोग्नुपरेको थियो । क्रान्तिकारी पार्टीको नेतृत्वमा श्रमिकवर्गले भाग लिएर मात्र क्रान्ति सफल हुन्छ भन्ने उनले ध्यान नदिई षड्यन्त्रकारीलाई मात्र कार्यनीति बनाएको हुँदा उनका विचारमा त्रुटिरहेको पाइन्छ ।

ब्लाङ्कीवाद यो उग्रवामपन्थी अराजकतावादी प्रवृत्ति हो । यो माक्र्सवाद विरोधी विचारधारा हो । ब्लाङ्कीको प्रभाव प्रथम अन्तर्राष्ट्रिय र पेरिस कम्युनमा पनि परेको थियो । पेरिस कम्युनमा त उनको बहुमत थियो । माक्र्सले उनको क्रान्तिकारी स्पिरिटको उच्च मूल्याङ्कन गर्दै उनको वैचारिक खण्डन गरेका थिए । ब्लाङ्कीवादले सर्वहारावर्गको क्रान्तिकारी पार्टीको निर्माणमा जोड दिनुको साटो मुट्ठीभर व्यक्तिहरूको भूमिकामा जोड दिन्थ्यो । यसले जनतामाथि भर पर्ने र जनतालाई गोलबन्द गर्नुपर्ने र सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर रूपमा क्रान्ति चलाउने वर्गसङ्घर्षको महत्वलाई अस्वीकार गर्दैथ्यो । यसले सर्वहारा अधिनायकत्व, वर्गहीन, राज्यविहीन स्थितिको विरोध गर्दथ्यो । ब्लाङ्कीवादलाई अनुशरण गरेकै महान् पेरिस कम्युन असफलता व्यहोर्नुपरेको तर्क पनि गरिएको पाइन्छ ।

मिखाइल अलेक्सान्द्रोविच बाकुनिन (सन् १८१४–१८७६)
बाकुनिन रुसी क्रान्तिकारी र अराजकतावादका एक सिद्धान्तकार थिए । उनले सन् १८४८–१८४९ मा जर्मनीको क्रान्तिमा सक्रिय भाग लिएका थिए । युरोपमा उनले अराजकतावादी आन्दोलन सङ्गठित गरेका थिए । बाकुनिनको दर्शनको मुख्य आधारमा राज्य नै मानिसको उत्पीडनको मुख्य तत्व हो भन्ने रहेको छ । उनी प्रथम अन्तर्राष्ट्रियको सदस्य बन्न सफल भएका थिए । उनले माक्र्स र एङ्गेल्सको घनघोर विरोध मात्र गरेनन् कि अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको नेतृत्व हत्याउने प्रयत्न समेत गरेका थिए । सन् १८७२ मा प्रथम अन्तर्राष्ट्रियबाट बाकुनिनलाई कारबाही गरेर निकाला गरिएको थियो ।
फर्डिनान्ड लासाल
फर्डिनान्ड लासाल जर्मन मजदुर सङ्घका संस्थापक अध्यक्ष थिए । लासाल जर्मन मजदुर आन्दोलनका नेता, अराजकतावादको विशेष रूप र लासालवादका संस्थापक थिए अर्थात् माक्र्सवाद विरोधी अवसरवादी धाराका लासाल प्रमुख व्यक्ति थिए । उनले राज्यलाई वर्गभन्दा माथिको सङ्गठन मान्दथे । उनको आफ्नो अवसरवादी धार र प्रक्रिया राजतन्त्रसँग सम्झौतावादी थियो । लासालको विचारलाई लासालवाद भनिन्छ । अध्यक्ष लासालले त्यसबेलाको मजदुर आन्दोलनमा एक छुट्टै कार्यक्रम पेस गरेका थिए । वास्तवमा लासालको कार्यक्रम अर्थात् लासालवाद एक सुधारवादी कार्यक्रम थियो । माक्र्स र एङ्गेल्सले यस कार्यक्रमलाई मजदुर आन्दोलनको एक अवसरवादी भनी आलोचना गर्नुभएको थियो ।

एडवर्ड बर्नस्टिन (सन् १८५०–१९३२)
एडवर्ड बर्नस्टिन जर्मनका सामाजिक जनवादी क्रान्तिकारी मजदुर आन्दोलनका संशोधनवादी प्रवक्ता हुन । सन् १८८९ मा एङ्गेल्सको नेतृत्वमा दोस्रो इन्टरनेसनलको स्थापना गरिएको थियो । सन् १८९५ मा एङ्गेल्सको मृत्यु भयो । सन् १८९६–१८९८ मा बर्नस्टिनले समाजवादको समस्या भन्ने लेख शृङ्खला प्रकाशित गरेका थिए । ती लेखहरूमा उनले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजका सिद्धान्तका क्षेत्रमा माक्र्सवादको आधारभूत प्रस्तावनाको आलोचना गरेका थिए । फ्रेडरिक एङ्गेल्सको मृत्यु पश्चात् सन् १८९६ मा दोस्रो इन्टरनेसनलभित्र माक्र्सवादका विरुद्ध पहिलो पटक संशोधनवादको प्रस्ताव पेस गर्ने पहिलो व्यक्ति एडवर्ग बर्नस्टिन हुन् । उनले द्वन्द्वात्मक भौतिकवाद, वैज्ञानिक समाजवाद र सर्वहारावर्गको अधिनायकत्वलाई अस्वीकार गरी वर्गसङ्घर्षलाई समाप्त पार्दै लैजाने सिद्धान्त प्रतिपादन गरेका थिए । उनले क्रान्तिकारी सिद्धान्तलाई अस्वीकार गरी विकासवादको सिद्धान्त अनुसार स्वयम् वर्गसङ्घर्ष समाप्त हुँदै जाने र मजदुरले क्रान्तिबाट पुँजीवादलाई समाप्त गरी सर्वहाराको नेतृत्वमा समाजवादको स्थापनालाई अस्वीकार गरेकाले उनको सिद्धान्तलाई संशोधनवाद भनिन्छ । दार्शनिक क्षेत्रमा प्लेखानोवले बर्नस्टिनको संशोनवादको व्यापक खण्डन गरेका थिए । यसैबाट नै क्रान्तिकारी माक्र्सवाद र क्रान्तिको सिद्धान्त अगाडि बढेको हो । लेनिनले रुसमा बर्नस्टिनको संशोधनवाद र अर्थवादी तथा मेन्सेविक अन्तर्राष्ट्रिय आन्दोलनको व्यापक आलोचना गरी क्रान्तिकारी माक्र्सवादी सिद्धान्तको रक्षा र विकास गर्नेक्रममा लेनिनवादको प्रतिपादन गरेर माक्र्सवादको ज्ञानको भण्डारमा थप योगदान पु¥याउनुभएको थियो र, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई समृद्धशाली तुल्याउनुभएको थियो ।

जुलियस मार्ताेभ (सन् १८७३ – १९२३)
मार्ताेभ रुसका एक क्रान्तिकारी नेता थिए । सन् १९०३ मा लेनिन र मार्ताेभको बीचमा पार्टी विधान, पार्टी निर्माण र परिचालनको विषयमा व्यापक विवाद भएको थियो । लेनिनले कम्युनिस्ट पार्टीको सदस्यले निश्चित लेवी तिर्नुपर्दछ भन्ने प्रस्ताव गर्नुभएको थियो । मार्ताेभले यसको सोझै विरोध गरेका थिए । पार्टी, सङ्गठन र पार्टी सदस्यहरूको अधिकारहरूका बारेमा लेनिनले अघि सार्नुभएका माक्र्सवादी मान्यतालाई मार्ताेभपन्थीहरूले अस्वीकार गरेका थिए । लेनिनले पार्टी सङ्गठन, सर्वहारावर्गको नेतृत्व र सर्वहारावर्गको अधिनायकत्वबारे कडाइका साथ अघि सार्नुभएको थियो तर मार्ताेभपन्थीहरूले लेनिनले अघि सार्नुभएका सबै माक्र्सवादी मान्यतालाई अस्वीकार गरेका थिए । लेनिन र मार्ताेभका बीच भीषण दुईलाइन सङ्घर्ष सञ्चालन भयो । त्यही मतभेदको कारण पार्टीमा विभाजन आयो । बोल्सेभिक र मेन्सेभिकको जन्म भयो । लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टी निर्माण र परिचालन भयो भने अल्पमत परेका मार्ताेभहरूले मेन्सेभिक पार्टी चलाए । लेनिनको नेतृत्वमा सन् १९१७ मा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । यस दुईलाइन सङ्घर्षको उत्कर्षसँगै लेनिनले लेनिनवादको प्रतिपादन गर्नुभयो ।

कार्ल काउत्स्की (सन् १८५४–१९३८)
कार्ल काउत्स्की जर्मन सामाजिक जनवादीको तर्फबाट दोस्रो इन्टरनेसनलका नेता बनेका थिए । सुरूमा उनी अराजकतावादी र प्रत्यक्षवादीहरूको प्रभावमा परेका थिए । दोस्रो इन्टरनेसनलको गठन(सन् १८८९) हुने क्रममै फ्रेडरिक एङ्गेल्ससँग उनको मतभेद भइसकेको थियो । सर्वहारावर्गको अधिनायकत्वको आलोचना गर्दै संसदवर्ग स्वार्थदेखि मुक्त हुनुपर्छ भन्ने चिन्तन अगाडि सारेका थिए । संसदीय जनवादको पक्षधर भएर सर्वहारावर्गको अधिनायकत्वको विरोध गरेका थिए । कार्ल काउत्स्की दोस्रो इन्टरनेसनलका नेता र माक्र्सवादी विरोधी थिए । सन् १९१८ मा लेनिनले सर्वहारा क्रान्ति र गद्दार काउत्स्की भन्ने पुस्तक रचना गरेका थिए ।

अलेक्सान्द्रा एत्येन मिलेराँ (सन् १८५९–१९४३)
अलेक्सान्द्रा एत्येन मिलेराँ फ्रान्सीसी राजनीतिज्ञ थिए । १९ औँ शताब्दीको अन्त्यतिर उनी समाजवादी पक्षधर बनेका थिए र फान्सीसी समाजवादी आन्दोलनमा उनले एक अवसरवादी धाराको प्रतिनिधित्व गरेका थिए । उनी मन्त्रिमण्डलवादका पक्षपाती थिए । उनी प्रतिक्रियावादी बुर्जुवा सरकारमा सामेल भएका थिए । सन् १९०४ मा उनलाई समाजवाद पार्टीबाट निकाला गरिएको थियो । सन् १९२० देखि १९२४ सम्म उनी फ्रान्सीसी गणराज्यका राष्ट्रपति समेत बनेका थिए । मिलेराँ मन्त्रिमण्डलवादका प्रणेता हुन् । उनी संशोधनवादी गद्दारहरूका कोटामा पर्दछन् ।

निकिता ख्रुश्चोभ (सन् १८९४–१९७१)
सन् १९५३ मा स्टालिनको निधन भयो । त्यसपछि निकिता ख्रुश्चोभ सोभियत सङ्घका नेता÷राष्ट्रपति बन्न पुगे । १९५६ मा सोभियत कम्युनिस्ट पार्टी (बोल्सेभिक)को २० औँ महाधिवेसनका आयोजना गरियो । त्यस महाधिवेसनमा मध्यरातमा ख्रुश्चोभले एउटा गोप्य रिपोर्ट पेस गरे र स्टालिनलाई खुनी, जड्याहाँ, जुवाडे हत्यारो आदि शब्दले गालीगलौज गर्दै विविध लाञ्छना र आरोपहरू लगाए । त्यति मात्र होइन, ख्रुश्चोभले समाजवाद प्राप्तिको लागि शान्तिपूर्ण सङ्क्रमणको बाटो र वर्ग समन्वयको बाटो अवलम्बन गर्न पुगे । उनले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व, सशस्त्र सङ्घर्षको सिद्धान्तका विरुद्ध भीषण हमला बोलेर ख्रुश्चोभले आधुनिक संशोधनवादलाई सोभियत समाजवादमा घुसाएर माक्र्सवाद–लेनिनवादप्रति गद्दारी गर्न पुग्यो र प्रतिक्रान्तिकारी बाटो अवलम्बन गर्न पुग्यो । ख्रुश्चोभको यो कार्यले कम्युनिस्ट आन्दोलनमा संशोधनवादी धारा अगाडि बढ्यो र सोभियत सङ्घलाई पुँजीवादमा पतन गराइछाड्यो । त्यसको लगत्तै माओत्सेतुङ र चिनियाँ कम्युनिस्ट पार्टीले ख्रुश्चोभी नवसंशोधनवादका विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा महान् बहस चलायो । ख्रुश्चोभी नवसंशोधनवाद संसारका विभिन्न कम्युनिस्ट पार्टीहरूका हैजाका किटाणु झैँ गरी फैलियो । अहिले पनि ख्रुश्चोभी आधुनिक संशोधनवाद विश्वसर्वहारा क्रान्तिको वाधकको रूपमा खडा हुँदै आइरहेको छ ।

ल्यू शाओ ची (सन् १८९८–१९६९)
ल्यू शाओ ची चीनका राष्ट्रपति समेत भएका थिए । उनले १९५६ मा आयोजना गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेसनमा समाजवादभित्र पुँजीवाद लागू गर्ने प्रस्ताव पेस गरेका थिए । माओत्सेतुङले समाजवादमा पनि वर्गसङ्घर्ष जारी राख्नुपर्दछ भन्ने विचार अघि सार्नुभएको थियो । माओले महान् छलाङ भन्ने कार्यक्रम अघि सार्नुभएपछि ख्रुश्चोभका चेला ल्यू शाओ चीले तीन आधुनिकीकरण नीति अघि सारेपछि माओ र उनका बीचमा अन्तरविरोध सुरू भएको थियो । पार्टीको आठौँ महाधिवेसनमा माओले समाजवादी बाटो अपनाउने, वर्गसङ्घर्ष पहिलो, उत्पादन सङ्घर्ष दोस्रो भन्ने प्रस्ताव अघि सार्नुभयो भने ल्यू शाओ चीले पुँजीवादी बाटो अपनाउने पहिलो उत्पादन सङ्घर्ष र आर्थिक क्रान्ति र दोस्रो वर्गसङ्घर्ष भन्ने ख्रुश्चोभी नीति अघि सारे । माओले भीषण दुईलाइन सङ्घर्ष सञ्चालन गर्नुभयो । ल्यू पुँजीवादपन्थी थिए । पार्टीलाई बुर्जुवाकरण गरेका कारण १९६६ देखि १९७६ सम्म माओको नेतृत्वमा महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरियो । ल्यू शाओ चीलाई गद्दार घोषित गरी जेलमा हालियो र पार्टीबाट समेत निकाला गरिएको थियो ।

देङ शियाओ पिङ्
देङ शियाओ पिङ दक्षिणपन्थी थिए । गद्दार ल्यू शाओ चीसँग देङलाई कारबाही गरी पार्टीबाट बर्खास्त गरिएको थियो । दसौँ महाधिवेसनपछि देङ शियाओ पिङ जस्ता दक्षिणपन्थी गद्दारलाई कारबाही फुकुवा गरी पुनर्संरचना गरेर पार्टीले गल्ती गरेको थियो । सन् १९७६ मा माओको निधन भयो । माओको मृत्युपछि देङ शियाओ पिङ शक्तिमा आए । माओको मृत्युभएको एक महिना नपुग्दै अक्टोबरमा चिनियाँ प्रतिक्रान्ति भयो । देङ शियाओ पिङले चार आधुनिकीकरणको सिद्धान्त अपनाइ चीनमा मिश्रित अर्थतन्त्र र खुला बजारी समाजवादको सिद्धान्त लागू गरेर चीनमा पुँजीवादको पुनस्र्थापना गरियो । चिनियाँ प्रतिक्रान्तिको प्रमुख नाइके र प्रयोगकर्ता गद्दार देङ शिओ पिङ थिए ।
यी माथिका उल्लेखित संशोधनवादी गद्दारहरू विश्व कम्युनिस्ट आन्दोलन र सर्वहारा क्रान्तिलाई ठुलो क्षति पु¥याए । यसले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई पनि गम्भीर क्षति पु¥याएको छ । २०१३ साल वैशाख ३ गतेदेखि मनमोहन अधिकारी र डा. केशरजङ्ग रायमाझीको माध्यमबाट नेपालमा ख्रुश्चोभ पनि नवसंशोधनवाद नेपाली कम्युनिस्ट आन्दोलनमा घुस्न सफल भएको हो । पहिलो चरणमा यसले २०२०÷२०२२ सालतिर पार्टी फुटाउन सफल भयो । दोस्रोमा एक कालखण्डमा शक्तिशाली कम्युनिस्ट पार्टी बन्न पुगेको एमालेलाई दक्षिणपन्थी संशोधनवादी भासमा डुबाउन सफल भयो । तेस्रो चरणमा अहिले वर्तमान नेपाली क्रान्तिको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीभित्र सुनामी बेगका साथ सवार भयो । समयमै यसलाई बाँदर लखेटाइ गरेर माओवादी पार्टीबाट लखेट्न सकिएन भने नेपाली क्रान्तिलाई ठुलो नोक्सान पु¥याउने प्रबल सम्भावना देखेपछि सो गरियो पनि ।
सन्दर्भ सामग्रीहरू
१. कार्ल माक्र्स, पुँजी खण्ड १ र २
२. फ्रेडरिक एङ्गेल्स, ड्युहरिङ्ग मतखण्डन
३. माक्र्स–एङ्गेल्स, सङ्कलित रचना सङ्ग्रहः भाग १, २, ३, ८, १०, २०, ३२, ४२, ४३
४. लेनिन सङ्कलित रचना सङ्ग्रह, भाग– ५, १८, १९, २४, ३८
५. माओत्सेतुङ् चुनिएका रचनाहरू, भाग– १, २, ३, ५, ८
६. लेनिनः एक पाइला अगाडि दुई पाइला पछाडि
७. महान् रूसी अक्टुबर क्रान्तिको इतिहास
८. चिनियाँ नयाँ जनवादी क्रान्तिको इतिहास
९. महान् बहस
१०. हो चि मिन्ह, क्रान्तिकारी नैतिकता
११. कम्युनिस्ट नैतिकता
१२. स्टालिन–लेनिनवादका आधारहरू
१३. प्लेखानोभ, चुनिएका दार्शनिक कृतिहरूः भाग १ र २
१४. लेनिन, माक्र्स–एङ्गेल्स–माक्र्सवाद
१५. मोहन वैद्य ‘किरण’, माक्र्सवादी दर्शन
१६. हस्तबहादुर केसी, माक्र्सवादी दर्शनशास्त्रका रूपरेखा
१७. हस्तबहादुर केसी, माक्र्सवादी दर्शनशास्त्रका सिद्धान्तहरू