काठमाडौं, २७ मंसिर । दुई चर्चित डनहरु प्रदेश सभाको निर्वाचनमा उम्मेदवार रहेकोमा वाम गठबन्धनको समर्थन पाएका डनले सफलता प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट उम्मेदार बनेका डनले चाहिँ चुनावमा हार बेहोर्नु परेको छ ।
प्रदेश सभा निर्वाचन–२०७४ मा उम्मेदवार बनेका चर्चित डनहरु हुन्, दीपक मनाङे र गणेश लामा । यसमध्ये मनाङे हिमालपारिको जिल्ला मनाङ ‘ख’ बाट उम्मेदवार बनेका थिए भने लामा कोशीपारि काभ्रे–१ ‘ख’ बाट उम्मेदवार रहेका थिए ।
मनाङेलाई जब एमालेले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन–२०७४ को टिकट दिने हल्ला चल्यो, त्यसको विरोध पार्टीभित्र बाहिर दुबैतिर हुन थाल्यो । त्यसपछि एमाले मनाङेलाई आधिकारिक उम्मेदवार बनाउने निर्णयबाट पछि हट्यो । मनाङेले स्वतन्त्र उम्मेदवारी दिए ।
एमालेले अर्कै कार्यकर्तालाई उसले पार्टीको उम्मेदवार बनायो, जो नातामा मनाङेकी दिदी पर्थिन् । तर उम्मेदवारी दर्ता गराइसकेकी उनले आफ्नो उम्मेदवारी फिर्ता लिइन् र मनाङेलाई समर्थन गरिन् । उनको निर्णयलाई मनाङ एमालेले पनि स्वीकार पनि ग¥यो । नगरोस् पनि किन, जब जिल्ला पार्टीमा मनाङेकै बोलवाला थियो ।
तिनै मनाङले मनाङ ‘ख’ विजय हासिल गरेका छन् । कानूनी रुपमा उनको हैसियत स्वतन्त्र विधायक हो । तर, उनको राजनीतिक आवद्धता भने अहिलेपनि एमालेमा नै छ । किनभने, वागी उम्मेदवारी दिएका अरुलाई कार्वाही गरेको एमालेले स्वतन्त्र उम्मेदवारी दिएका मनाङेलाई कार्वाही गरेको छैन ।
वाम गठबन्धनका स्वतन्त्र उम्मेदवार मनाङेलाई यस पटकको निर्वाचन फापेपनि अर्का विवादास्पद डन गणेश लामालाई भने यो निर्वाचन फापेन । लामा नेपाली कांग्रेसबाट काभ्रे–१‘ख’ का उम्मेदवार थिए । उनलाई एमाले उम्मेदवार चन्द्र लामाले ४ हजारको मतान्तरले हराए ।
४४ हजार ७ सय ४३ मत खसेको सो क्षेत्रमा डन लामाले २० हजार २ सय ७० मत प्राप्त गरे भने विजय हासिल गरेका एमालेका लामाले २४ हजार ४ सय ४७ मत पाए । डन लामा विजय गच्छेदारसँगै फोरम (लोकतान्त्रिक) बाट नेपाली कांग्रेस फर्केका थिए ।
मनाङे वामगठबन्धनबाट र लामा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार भएपनि अपराधजगतमा भने यी दुईबीच गुरुचेलाको सम्बन्ध रहेको प्रहरी रेकर्ड बताउँछ । धम्की, जबरजस्ती रकम असुली, अपहरण, हत्या प्रयासलगायतका घटनामा संलग्न भएको भन्दै प्रहरीले दुबै जनालाई अपराधजगतको क श्रेणीमा राख्ने गरेको छ ।































