काठमाडौं, २६ मंसिर । प्रहरीले कृषि विकास बैंक न्युरोड शाखामा पाँच करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–३२ का ४७ वर्षीय प्रेमहरी ढुंगेल, टोखा–८ का ५६ वर्षीय गोपाल गिरी र चन्द्रागिरि–५ का ३९ वर्षीय महेश्वर मरहट्टा छन् ।
उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएका टोलीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका ढुंगेल र मरहट्टा बैंकका कर्जा प्रमुख हुन् । गिरी बैंकका इसिसी प्रमुख हुन् । प्रहरीले यसअघि नै नागार्जुन–१ का ३२ वर्षीय दीपिका रेग्मीसहित ३ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्ने काठमाडौं–१६ का ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं–३२ का ४२ वर्षीय रमेशकुमार थापा छन् ।
प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेकमार्फत जम्मा गरिएको रकम पेन्डिङ देखाई आपसमा बाँड्ने काम गरेका थिए । यसका लागि उनीहरूले पहिलो चरणमा ग्राहकबाट जम्मा भएको चेक ग्राहककै बैंक खातामा जम्मा गरिदिन्थे ।
प्रमाणका रूपमा रिसिप्ट पनि दिन्थे । तर, उक्त रकम दीपिका रेग्मी वा उनका आफन्तको बैंकमा जम्मा गर्थे । यस प्रक्रियाबाट उनीहरूले चार करोड ९१ लाख रुपैयाँ हिनामिना गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
रेग्मीसहितका तीनै जनामाथि बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा चलाइसकिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका अन्यलाई पनि सोही कसुरअन्तर्गत मुद्दा चल्ने प्रहरीको भनाइ छ ।