धनगढी, २६ मंसिर । प्रहरीको ‘मोष्ट वान्टेड’ सुचीमा रहेको रमेश चौधरी कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
राजपाका उम्मेदवार चौधरीले विपक्षमा रहेका वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजार मत अन्तरले हराएका हुन् ।
चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र गरिन् भने कांग्रेसकी इश्वरी न्यौपानेले ११ हजार २०३ मात्र प्राप्त गरिन् ।
चौधरी कैलाली टीकापुर घटनाका मुख्य आरोपी हुन् र उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।
०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । यो हत्याकाण्डको मुख्य योजनाकार रेशम चौधरी भएको सुरक्षा संयन्त्रको ठहर छ । हत्या आरोपमा धेरै जनालाई पक्रेर कारबाही प्रक्रिया अघि बढाइए पनि मुख्य आरोपी चौधरी भने फरार छन् ।






























