मलेसियालाई ३३ रनले पराजित गर्दै नेपाल चौथो स्थानमा

मलेसियालाई ३३ रनले पराजित गर्दै नेपाल चौथो स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) महिला टी–टन्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाली महिला टोली निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा समेटियो ।

मलेसियाकी इम्याइलिया इलियानीले सर्बाधिक २४ रन जोडिन् । त्यसबाहेक जियानी सायमिमीले १६ तथा दुरिसिंन्गमले ११ रन बनाइन् ।नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का, सरिता रानामगर, नेरी थापा र रितु कनौजियाले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालको ओपनरद्वय सिता राना मगर र ज्योति पाण्डेको अर्धशतकिय साझेदारीको मदतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ बनाएको थियो ।

१२.२ ओभरमा मस एलिसाले सरितालाई ३७ रनमा रनआउट पार्नुअघि यो जोडीले ६६ रनको साझेदारी गरेको थियो । त्यसबाहेक नेपालका लागि ज्योति पाण्डेले २१, काजोल श्रेष्ठले १४ रन जोडिन् । मलेसियाकी नुर एरिना नट्सया र जन्नादिहा हालिमले समान दुई दुई विकेट लिईन ।

राउण्ड रोबिन आधारमा खेलाइएको प्रतियोगितामा नेपालको यो चौथो खेलमा पहिलो जित हो । यसअघि सुरुवाती दुई खेल वर्षाले प्रभावित भएपछि नेपाल आयोजक थाइल्याण्ड र हङकङसँग अंक बाड्न बाध्य भएको थियो । त्यसबाहेक विहीबार भएको युइईसँगको खेल नेपालले ५ रनको झिनो अन्तरले गुमाएको थियो ।

नेदरल्याण्डमा आगामी जुनमा हुने ग्लोबल क्वालिफायर्समा अंकतालिकाको शीर्ष दुई स्थानमा रहने टोली पुग्ने प्राबधान छ । ६ टोली सम्मेलित छनोटमा ४ अंक सहित चौथो स्थानमा पुगेको छ । तेस्रो स्थानको युएइको पनि समान ४ अंक भएपनि रनरेटका आधारमा उ नेपाल भन्दा अघि छ । अंकतालिकाको पहिलो स्थानमा थाइल्याण्ड(७) र दास्रो स्थानमा हङकङ(५) रहेका छन् । नेपालले अब आइतबार अन्तिम खेलमा चीनको सामना गर्नेछ ।