क्रान्तिकारी पार्टीहरुबीच एकता र ध्रुवीकरणको आवश्यकता छः कँडेल

क्रान्तिकारी पार्टीहरुबीच एकता र ध्रुवीकरणको आवश्यकता छः कँडेल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय प्रवक्ता हरिभक्त कँडेलले क्रान्तिकारी पार्टीहरुबीच एकता र धु्रवीकरण आवश्यक रहेको बताउनु भएको छ । उहाँले पार्टी एकता र धु्रवीकरणका लागि पार्टी सम्बद्ध मोर्चा देजमोले क्रान्तिकारी उपयोगको रुपमा चुनाव उपयोग गरेको प्रष्ट पार्नु भयो । देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल, रुपन्देहीले बिहिबार बुटवलमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गदैं प्रवक्ता कँडेलले सो कुरा बताउनु भएको हो ।

प्रतिगामी र प्रतिक्रियावादी शक्तिले क्रान्तिकारी माओवादीलाई घेराबन्धी गरेको बताउँदै उहाँले त्यसलाई परास्त गर्न आफुहरु लागि परेको बताउनु भयो । तत्कालिन जनयुद्धका नायक प्रचण्ड खलनायक भैदिँदा क्रान्तिले धक्का खाएको बताउँदै नेता कँडेलले जनताको व्यवस्था स्थापना गर्ने तयारीमा लागेको बताउनु भयो । साम्रज्यवादीको दबाबमा मुलुकमा थ्रेसहोल्ड लगाएको दावी गदैं उहाँले क्रान्तिकारी पार्टीलाई त्यसले खासै असर नपर्ने बताउनु भयो ।

पश्चगामी संविधानको खारेजी र जनगणतन्त्रात्मक संविधान निर्माणका लागि मुठ्ठी चुनाव चिन्हमा मतदान गरेर देजमोका उम्मेदवारलाई जिताउँन उहाँले आग्रह गर्नुभयो । यसैबीच देशभक्त जनगणतान्क्रिक मोर्चा–नेपाल, रुपन्देही क्षेत्र नं २ अन्तरगत बुटवल उपमहानगरपालिका वडा १,२,१२,१३ मा बिहिबार मोर्चाले उम्मेदवारसहित घरदैंलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

भेटघाटका क्रममा उम्मेदवार दलबहादुर छन्त्याल,रामप्रसाद पोख्रेल,खुमान्द भुसाल लगायतसँग मतदाताले आ–आफ्ना समस्या राखेको मोर्चाले जनाएको छ । उता रुपन्देही क्षेत्र नं १,३,४ र ५ मा पनि मोर्चाका उम्मेदवारले घरदैलो र पर्चा वितरण गर्ने कार्य बिहिबार पनि जारी राखेको जनाएका छन् ।