मौन अवधिमा प्रचार गरे उम्मेदवारी रद्द

प्रकाशित मिति : २०७४ मंसिर ८

काठमाडौं, ८ मंसिर । पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । यही १० गते मतदान हुने क्षेत्रमा मौन अवधि लागु भएको हो । मौन अवधि मतदानका दिन मतदान केन्द्र बन्द नभएसम्म जारी रहनेछ । यो समयमा कुनै पनि राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गर्न गराउन पाइँदैन ।

यतिका दिनसम्म उम्मेदवारले मतदातामाझ गरेका प्रतिवद्धताका बारेमा शान्त भएर सोच्ने मौका मतदातालाई दिनका लागि पनि मौन अवधिको व्यवस्था गरिएको हो । एउटै मतदातालाई धेरै उम्मेदवाहरुले भेटेर मत मागेका हुन्छन् ।

मतदानको पूर्वसन्ध्यामा मतदाताले सोच विचार गरेर योग्य व्यक्तिलाई मत प्रदान गर्न सकुन भनेर मौन अवधि दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल बताउँछन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै ढकालले उम्मेदवारका विचार र योजनाका बारेमा विश्लेषण गर्नका लागि छुट्टयाइएको समय नै मौन अवधि भएको ढकालले प्रष्ट पारे ।

कुनै पनि उम्मेदवारले यो समयमा प्रचारप्रसार र मत माग्ने काम गर्न नपाउने प्रवक्ता ढकालले बताए । मतदाता, राजनीतिक दल तथा उम्मेदवार, अनुगमनकर्ता र सञ्चार माध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गराउन मौन अवधि लागू गरिएको हो । यसले निर्वाचनलाई मर्यादित पनि बनाउने विश्वास गरिन्छ ।

“एसएमएस तथा फेसबुकजस्ता विद्युतीय सामाजिक सञ्जालबाट समेत मत माग्न पाइँदैन । आचारसंहिताअनुसार राजनीतिक दल तथा उम्मेदवारले मौन अवधि सुरु हुनु अगाडि नै मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आआफ्ना प्रचार सामग्री पनि हटाउनुपर्छ ।” ढकालले भने ।

निर्वाचन आचारसंहिताले पनि मौन अवधिमा निर्वाचन कुनै पनि खालका प्रचारप्रसार र मत माग्न निषेध गरेको छ । उम्मेदवारले मौन अवधिको आचारसंहिता उल्लङ्घन गरेको पुष्टी भएका उम्मेदवारी रद्द गरिने चेतावनी ढकालले दिएका छन् । चुनावी नतिजा आइसकेपछि पनि वा विजयी भइसकेको कुनै उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको पुष्टी भएमा समेत सम्बन्धित उम्मेदवारको सबै प्रक्रिया शुन्यमा झार्ने ढकालले स्पष्ट पारे ।