एजेन्सी । यो वर्षको नोबेल शान्ति पुरस्कार परमाणु अस्त्र निर्मुल पार्न काम गर्दै आएको अन्तर्राष्ट्रिय समूह (आइक्यान) लाई प्रदान गरिएको छ ।
नोबेल समितिकी अध्यक्ष बेरिट राइस–एण्डरसनले उक्त समूहले परमाणु अस्त्रमाथि प्रतिबन्ध लगाउने सन्धी ल्याउन गरेको महत्वपूर्ण प्रयासका लागि सो पुरस्कार दिइएको बताइन् ।
एण्डरसनले परमाणु अस्त्र भएका राष्ट्रहरुले हतियारहरु विस्तारै हटाउनका लागि वार्ताको पहल गर्न आह्वान गरिन् ।
नोबेल समितिले भनेको छ, ‘हामी यस्तो विश्वमा बसिरहेका छौं जहाँ परमाणु अस्त्रको प्रयोगको सम्भावना वर्षौं यताको तुलनामा सबभन्दा उच्च छ ।’
जुलाईमा १ सय २२ राष्ट्रहरुले सबै परमाणु अस्त्र प्रतिबन्ध गर्न र अन्ततोगत्वा निर्मूल पार्नका लागि बनाइएको संयुक्त राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेका थिए ।
तर ब्रिटेन र अमेरिकासहितका विश्वका ९ वटा परमाणु शक्ति सम्पन्न राष्ट्रहरुमध्ये कसैले पनि त्यसमा हस्ताक्षर गरेनन् ।
सयौं गैरसरकारी संस्थाहरु सम्मिलित आइक्यान १० वर्ष पुरानो संस्था हो र यसको मुख्यालय स्वीटजरल्याण्डको जिनिभामा रहेको छ ।
उक्त समूहले डिसेम्बरमा हुने कार्यक्रममा ११ लाख डलर सहितको पुरस्कार पाउनेछ ।