एजेन्सी । अमेरिकामा ट्रम्प प्रशासनले परिवार नियोजन सम्वन्धी नयाँ नीति घोषणा गरेको छ ।
ट्रम्प प्रशासनको नयाँ नीतिले ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनको पहुँचबाट वञ्चित पार्न सक्ने अनुमान गरिएको छ ।
परिवार नियोजन सम्वन्धी नयाँ नीतिका कारण त्यहाँको स्वास्थ्य मन्त्रालयले अब धार्मिक अथवा नैतिक धरातलका आधारमा महिलालाई गर्भनिरोधक चक्की वा परिवार नियोजनका अन्य साधन उपलब्ध गराउन रोक लगाउन सक्नेछ ।
स्वास्थ्य बीमामा धेरैको पहुँच पु¥याउने उद्देश्यका साथ पूर्व राष्ट्रपति बाराक ओबामाले ल्याएको ‘अफोरडेबल केयर एक्ट’ भनिने ऐन अन्तरगत त्यसो गर्नुपर्ने हुन्छ ।
घोषणा गरिएको उक्त कदम चुनावी अभियानका क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले जनाएको एउटा महत्त्वपूर्ण प्रतिबद्धताको कार्यान्वयन हो ।
उक्त घोषणाको धार्मिक पुरातनपन्थीहरुले स्वागत गरेका छन् भने महिला अधिकारवादीहरुले आलोचना गरेका छन् ।
‘अमेरिकन सिभिल लिबर्टिज युनियन’ ले त्यसलाई अदालतमा कानून चुनौती दिइसकेको छ । क्यालिफोर्निया राज्यका महान्यायाधिवक्ताले उक्त परिवर्तनविरुद्ध लड्नका निम्ति आवश्यक जेसुकै गर्न आफू तयार रहेको बताएका छन् ।
ओबामाले ल्याएको ऐन अनुसार बीमा कम्पनीहरुले महिलालाई परिवार नियोजनका साधनहरु निःशुल्क उपलब्ध गराउन पाइरहेका थिए ।
अमेरिकी स्वास्थ्य नीतिमा व्यापक फेरबदल ल्याउने प्रयासस्वरुप ओबामाले उक्त ऐन लागू गराएका थिए । तर चुनावी अभियानका क्रममा ट्रम्पले त्यसको अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
शुक्रवारको घोषणापछि नाम उल्लेख नगर्ने शर्तमा स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘संस्थाहरुले धार्मिक आस्थाको अनुशरण गर्ने र धार्मिक आस्थाकै आधारमा विभेदको सामना गर्न नपर्ने अवस्था हुनुपर्छ ।’
अमेरिकी तल्लो सदनका सभामुख पल रायनले उक्त निर्णय ‘धार्मिक स्वतन्त्रताको दिशामा एउटा महत्त्वपूर्ण कदम’ भएको प्रतिक्रिया दिएका छन् ।