माओवादी केन्द्र विभाजनको संकेत, किरातीको नेतृत्वमा पुनर्गठन समिति बन्ने !

माओवादी केन्द्र विभाजनको संकेत, किरातीको नेतृत्वमा पुनर्गठन समिति बन्ने !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सभागृहमा हुने प्रशिक्षण सचिवालय सदस्य गोपाल किराती पक्षले बहिस्कार गरेको छ ।

नेता किराँतीले सो प्रशिक्षणबाट एमालेसँग कार्यगत एकता हुँदै पार्टी एकतासम्म पुग्ने ६ बुँदे सहमति परिमार्जनको कुनै गुन्जायस नभएकाले सो प्रशिक्षण बहिस्कार गरेको जनाएका छन् ।

एमालेसँगको कार्यगत एकता र पार्टी एकताका लागि किराँतीलाई पनि मनाउन प्रचण्डले छलफल गरेका थिए । किराँतीले फेसबुकमा लेख्दै प्रचण्डसँग एक घन्टा छलफल भएको पुष्टि गरेका छन् ।

उनले लेखेका छन्, ‘आज बिहान प्रचण्डसँग एक घण्टा छलफल गरियो । ‘बैठक’ भनिएको भए विधिको दृष्टिले पनि अस्ती १७ गतेको ६ बुँदे घोषणा परिमार्जन सम्भव हुने थियो तर ‘प्रशिक्षण’ भनेपछि केन्द्रीयताको त्यो कार्यक्रमबाट परिमार्जनको कुनै गुन्जाईस रहेन र सभागृहमा गईएन ।’

यसैगरी उनले आइतबार पनि प्रचण्डसँग छलफल हुने र त्यसलगत्तै नेकपा (माओवादी केन्द्र) पुनर्गठन समिति निर्माण गर्ने घोषणा गरेका छन् ।

नेपाली काँग्रेससँगको सत्ता गठबन्धन धरापमा पार्दै एमालेसँग चुनावी तालमेल हुँदै पार्टी एकतासम्म पुग्ने प्रचण्डको तयारीपछि सो पार्टीको ठूलो पंक्ति असन्तुष्ट रहेको छ ।

किराँतीको नेतृत्वमा पार्टी पुनर्गठन समिति निर्माण भएमा माओवादी केन्द्र पुनः विभाजनको दिशामा जानेछ । प्रचण्डसहितका नेताहरु एमालेसँग एकताका लागि तयार भएपछि उनले पटक पटक त्यसको विरोध गर्दै आएका छन् ।