एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनका सौनेती दाजु किम जोङ नामको हत्याको आरोपमा पक्राउ परेका दुवै महिलाले आफूहरु निर्दोष रहेको दाबी गरेका छन् ।
मलेसियाको एक अदालतमा भइरहेको सुनुवाईका क्रममा भियतनामकी २९ वर्षीय डोन थी हुवङ र २५ वर्षीय इण्डोनेसियाली महिला सिठी आइस्यालेले आफूहरुको हत्यामा संलग्नता अस्वीकार गरेका हुन् ।
यी दुईले किमको अनुहारमा विष दलेर हत्या गरेको आरोप लगाइएको छ । गत फेब्रुअरीमा मलेसियाको राजधानी क्वालालम्पुर विमानस्थलबाट मकाउ जान लागेका किमलाई भिएस नर्भ एजेन्ट नामक रसायन अनुहारमा छर्किएर हत्या गरिएको थियो ।
आक्रमणपछि अस्पताल लैजाँदै गर्दा किमको मृत्यु भएको थियो । उनीहरु दुवैले यो सबै उत्तर कोरियाली एजेन्टको काम भएको र आफूहरुले त्यो कुनै टेलिभिजन प्रयाङक भएको विश्वास गरेको बताएका छन् ।
किम जोङ नाम उत्तर कोरियाका दिवंगत नेता किम जोङ इलका जेठो छोरा हुन् । किम जोङ नाम धेरै समय मकाउ, सिंगापुर र चीनमा बस्दै आएका थिए ।