काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राती भएको खेलमा इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीले एथ्लेटिको मड्रिडलाई २–१ ले हराएको छ ।
स्पेनिस क्लव एथ्लेटिकोको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मिची बात्सुईले अतिरिक्त समयमा निर्णायक गोल गरे ।
यसअघि एथ्लेटिको मड्रिडका एन्टोनियो ग्रेजम्यानले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए भने चेल्सीका लागि अल्भारो मोराटाले बराबरी गोल गरेका थिए ।
सोही समुहको अर्को खेलमा ईटालीको ए.एस रोमाले अजरबैजानको काराबागलाई २–१ ले हराएको छ ।
च्याम्पियन्स लिगअन्तर्गत समुह ए का खेलहरुमा म्यान्चेस्टर युनाईटेड र एफसी बाजल विजयी भएका छन् ।
इङ्गलिस क्लव म्यान्चेस्टर युनाईटेडले रुसको सि.एस.के.ए मस्कोलाई ४–१ ले हराँउदा स्विट्जरल्याण्डको एफसी बाजलले पोर्चुगलको बेनिफिकालाई ५–० ले पाखा लगायो ।
समूह बि का खेलहरुमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी.ले जर्मनीको बायर्न म्युनिखलाई ३–० ले हराँउदा स्कटल्याण्डको सेल्टिकले बेल्जियमको एन्डरलेच्टलाई समान ३–० गोल अन्तरमै पराजित गर्यो ।
यसैगरी समूह डि का खेलहरुमा बार्सिलोना र युभेन्टस विजयी भएका छन् ।
स्पेनिस क्लव बार्सिलोनाले पोर्चुगलको स्पोर्टिङलाई १–० ले हराँउदा ईटालीको युभेन्टसले ग्रिसको ओलम्पियाकोसमाथि २–० को जित निकाल्यो ।