नेपाल बन्यो यू–१८ साफ च्याम्पियन, भारत २–० ले पराजित

नेपाल बन्यो यू–१८ साफ च्याम्पियन, भारत २–० ले पराजित

काठमाडौं । भारतलाई २–० ले हराउँदै नेपाल १८ वर्षमुनिको साफ च्याम्पियनसिप विजेता बनेको छ ।

भुटानको थिम्पुमा भएको अन्तिम खेलमा नेपालका लागि दिनेश हेन्जनले दोस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा फेरि हेन्जनले नै दोस्रो गोल गर्दै पहिलो हाफमा नै २–० ले अघि बढाएका थिए ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि नेपाल २–० ले विजयी भएको हो । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन नेपाललाई उपाधी रक्षाका लागि पनि निश्चित जित आवश्यक थियो ।

गएको सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो भने शुक्रबार माल्दिभ्सलाई २–० ले हराएको थियो । पहिलो खेलमा भने नेपाल पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो ।

बुधबार नै भएको अर्को खेलमा बंगलादेशले आयोजक भुटानलाई २–० ले हरायो । नेपाल भारतसँग पराजित भए या बराबरी भएको अवस्थामा पहिलो खेलमा भारतलाई हराएको बंगलादेश हेड टु हेडका आधारमा च्याम्पियन बन्ने थियो तर नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधी रक्षा गरेको हो ।

प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए ।