म्यान्चेस्टर युनाइटेडद्वारा एभर्टन पराजित, चेल्सी र आर्सनल बराबर

म्यान्चेस्टर युनाइटेडद्वारा एभर्टन पराजित, चेल्सी र आर्सनल बराबर

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि प्रभावशाली जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ४–० को जित हात पारेको हो ।

युनाइटेडको जितमा एन्टोनियो भ्यालेन्सिया, हेनरिक मिखतार्यान, रोमेलु लुकाकु र एन्थोनी मार्सलले गोल गरे ।

जितपछि युनाइटेडको ५ खेलबाट १३ अंक भएको छ । समान १३ अंक नै भए पनि म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ भने युनाइटेड दोस्रो स्थानमा छ । पाँच खेलबाट चार अंक जोडेको एभर्टन भने १८ औं स्थानमा झरेको छ ।

यसैगरी आइतबारराति नै भएको अर्को खेलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खैल्दै अंक बाँडेका छन् ।

साबिक विजेता चेल्सी घरेलु मैदानमा भएको खेलमा आर्सनलसँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेलको ८७ औं मिनेटमा रातो कार्ड खाँदै डेविड लुइज मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

पाँच खेलबाट १० अंक जोडेको चेल्सी तेस्रो स्थानमा कायम छ । सात अंक जोडेको आर्सनल १२ औं स्थानमा छ ।