काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को सिङ्गो पंक्ति अहिले असोज २१ देखि २५ मा हुने पार्टीको राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ ।
श्रावण मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरेका सदस्यहरुलाई आधार मानेर क्रान्तिकारी माओवादी प्रतिनिधि छनौटमा जुटेको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णभक्त महर्जन‘कगेन्द्र’ले दिएको जानकारी अनुसार देशका ७६ वटै जिल्ला, प्रवास र अन्तर्राष्ट्रिय गरेर करिब ५ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागि हुनेछन् ।
३ नं. प्रदेशको काठमाडौं जिल्लामा प्रतिनिधि छनौट गर्न निर्वाचनको विधि प्रयोग गरेको छ । अन्य जिल्लामा पनि प्रतिनिधि छनौटको कामलाई टुंग्याउँदै लगिएको छ । प्रतिनिधिहरुलाई प्रवेश शुल्क पाँचसय तोकिएको छ ।
पार्टीमा वैचारिक, राजनीतिक तथा सांगठानिक महत्वका विषयहरुलाई व्यवस्थित रुपमा छलफल तथा बहस चलाउन सम्मेलनका लागि तयार पारिएका दस्तावेजहरु प्रकाशित गरी सबै जिल्ला जिल्लामा वितरण गरिएको छ । र, ती दस्तावेजहरुमाथि प्रदेश स्तरमा छलफल तथा बहस चलाइएको छ ।
पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’, कार्यालय सदस्य रामसिंह श्रीसलगायतका नेताहरुले ३ नं. प्रदेशमा भाद्र २० गते, भाद्र २२ गते ४ नं. प्रदेशमा, भाद्र २४ गते ५ नं. प्रदेशमा, भाद्र २६ गते ६ नं. प्रदेशमा, भाद्र २८ गते ७ नं. प्रदेशमा दस्तावेजमाथि प्रदेश स्तरका नेता कार्यकर्ताबीचमा छलफल बहस चालएका छन् ।
भाद्र ३१ गते– १ नं. प्रदेशका तोकिएको कार्यक्रम भने स्थगित भएको बुझिएको छ भने २ नं. प्रदेशका लागि आश्विन ७ गते छलफल बहस चलाउने कार्यक्रम तय गरिएको छ ।
जिल्लाहरुले भने भेला गरी प्रतिनिधि छनौट गर्ने र आ–आफ्नो सापेक्षताका दस्तावेजहरुमाथि बहस÷छलफल गर्ने र १५ आश्विनसम्म केन्द्रीय कार्यालयमा सुझावहरु पठाउने अन्तिम समय तोकिएको पार्टी कार्यालय सचिव कगेन्द्रले जानकारी दिए ।
सचिव कगेन्द्रका अनुसार राष्ट्रिय सम्मेलनका लागि स्थान, व्यवस्थापनलगायतका विषयमा भने आश्विन ४ गते बस्ने पार्टीको सचिवालयको बैठकले ठोस निर्णय गर्नेछ ।
समकालीन कम्युनिष्ट तथा माओवादी आन्दोलनको वृतमा वैचारिक केन्द्रको रुपमा तथा क्रान्तिकारी धारको नेतृत्व गरिरहेको पार्टीको रुपमा स्थापित नेकपा (क्रान्तिकारी माओवादी)को आसन्न उक्त राष्ट्रिय सम्मेलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा निकै महत्वका साथ हेरिएको छ ।
राष्ट्रिय सम्मेलनले मुलुकमा दलाल तथा नोकरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्थाप्रति जनताको बढ्दो घृणा र आक्रोशलाई संगठित गर्दै नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्न सक्षम पार्टी निर्माण गर्ने, नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको फौजी कार्यदिशालाई अझ समृद्ध तथा मूर्त गर्ने, आम देशभक्त, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध बनाएर अगाडि बढाउने लगायतका जनअपेक्षा पूरा गर्ने विश्वास लिइएको छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बन्दै गएको अवस्थामा हुने क्रान्तिकारी माओवादीको सम्मेलनबाट लिइने नीतिले अबरुद्ध नयाँ जनवादी क्रान्तिको प्रक्रियालाई सशक्त रुपमा अगाडि बढाउने विश्वास क्रान्तिकारी माओवादीका नेता कार्यकर्तामा देखिन्छ ।