एजेन्सी । उत्तर कोरियाले जापानको होक्काइदो टापुको आकाशमाथिबाट अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ ।
राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको सो क्षेप्यास्त्रले ३ हजार ७ सय किलोमिटरको दुरी तय गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
उत्तर कोरियाले यसअघि सोही क्षेत्रबाट परीक्षण गरेको भन्दा यो लामो दुरीको क्षेप्यास्त्र भएको बताइएको छ ।
जापानी आकाशमा क्षेप्यास्त्र पुगेपछि एकाबिहानै अलार्म बजेको थियो । अलार्म बजेपछि स्थानीय बासिन्दालाई सुरक्षित आश्रय लिएर बस्न भनिएको थियो ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाएको चार दिनपछि प्योङयाङगले पछिल्लो क्षेप्यास्त्र प्रहार गरेको हो ।
सेप्टेम्बर ३ मा हाइड्रोजन बमको सफल परीक्षण गरेको बताएपछि सुरक्षा परिषद्ले दण्डित गर्ने भन्दै उत्तर कोरियाविरुद्ध सर्वसम्मतिले नयाँ प्रतिबन्धहरु पारित गरेको थियो ।
दक्षिण कोरियाली र जापानी सरकारले पछिल्लो क्षेप्यास्त्रबारे समीक्षा गरिरहेको बताएका छन् । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लू हाउसले पछिल्लो क्षेप्यास्त्र प्रहारपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको छ ।
यसअघि गत अगस्ट २९ तारिखमा उत्तर कोरियाले आफ्नो आकाशमाथि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा जापानले त्यसलाई ‘अभुतपूर्व खतरा’ को संज्ञा दिएको थियो ।
सो क्षेप्यास्त्र जापानी आकाश भएर ३ हजार किलोमिटरको दूरी तय गरी समुद्रमा खसेको थियो । प्योङयाङगले त्यसलाई कोरियाली प्रायद्वीपमा सैन्य कारबाहीको ‘पहिलो कदम’ भएको बताएको थियो ।