एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।
उत्तर कोरियाले एक साताअघि गरेको हाइड्रोजन बमको सफल परीक्षणपछि अमेरिकाको प्रस्तावमा पारमाणविक कार्यक्रमका लागि जुटाउने रकम तथा इन्धनमाथि रोक लगाउने उद्देश्यले थप प्रतिबन्ध लगाएको हो ।
संयुक्त राज्य अमेरिकाले तेलमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारे पनि सुरक्षा परिषद्ले उत्तर कोरियाले गर्ने कच्चा तेल आयातमाथि प्रतिबन्ध लगाएको छ ।
सुरक्षा परिषद्ले प्योङयाङको एउटा महत्वपूर्ण आम्दानीको स्रोतको रुपमा रहेको कपडाको निर्यातमाथि पनि प्रतिबन्ध लगाएको छ ।
संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूतले अन्तर्राष्ट्रिय समुदायको अपेक्षालाई गम्भीर रुपमा लिन र आफ्नो पारमाणविक कार्यक्रम रोक्न उत्तर कोरियालाई आग्रह गरेका छन् ।
सन् २००६ यता सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्धका नौवटा प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।
यसअघि सोमवार उत्तर कोरियाले संयुक्त राष्ट्रसंघमार्फत आफूविरुद्ध कडा प्रतिबन्ध लगाउने दिशामा अमेरिका अघि बढिरहे उसले भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो ।
उत्तरले आफ्नो परमाणु विकासलाई उल्ट्याउन चाहने अमेरिका एउटा ‘रक्तपिपाशु जनावर’ भएको आरोप समेत लगाएको थियो ।
उत्तर कोरियाले केही दिनअघि मात्रै हाडड्रोजन बमको सफल परीक्षण गरेपछि उसमाथि कडा प्रतिबन्ध लगाउन अमेरिकाले सुरक्षा परिषद्मा प्रस्ताव गरेको थियो ।