भाद्र २४, २०७४, नुवाकोट । काठमाडौंबाट नुवाकोट खरानीटारका लागि शनिबार छुटेको यात्रुवाहक बस जिल्लाको शिवपुरी गाउँपालिका–७ गुर्जेमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिकामा भएको बस दुर्घटनाका २८ घाइतेमध्ये १८ जनाको राजधानीको धापासिस्थित ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ । अन्य आठ जनाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र एक जनाको बीपी स्मृति अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंको माछापोखरीबाट नुवाकोटको खरानीटारका लागि हिँडेको बस शिवपुरी गाउँपालिका ७ लोहोरेटोको सडकबाट तीन सय ५० मिटर झरेपछि सीता तामाङको घरमा बज्रिन पुगेको थियो । बस दुर्घटना हुँदा घरमै गम्भीर घाइते भएकी अनिल तामाङकी श्रीमती ३१ वर्षीया सीताको अहिले काठमाडौको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा विदुर नगरपालिका ९ की २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका ५ की ४५ वर्षीया लक्ष्मी न्यौपाने, सोही ठाउँकी ६७ वर्षीया ठूलीमाया तामाङ, बसका सहचालक तादी गाउँपालिका ७ बिसेका २८ वर्षीय नवराज बिक, ठेगाना नखुलेका ५४ वर्षीय लालबहादुर तामाङ र ठेगाना नखुलेकी ३७ वर्षीया उजेली तामाङ, तादी गाउँपालिका रालुकाकी २२ वर्षीया सबिना तामाङ रहेका छन् ।
साँघुरो सडकमा क्षमता भन्दा बढी यात्रु बोकेको बसको स्टेरिङ नघुम्दा दुर्घटना भएको प्रहरीको अनुमान छ भने दुर्घटना लगत्तै बसका चालक फरार भएका छन् ।
चितवनमा आपसमा बस ठोक्किदा ३ को मृत्यु, २४ घाइते
यसैबीच, पूर्वी चितवनको राप्ती नगरपालिका १ पिप्लेमा दुई बस एकआपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।
नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्वरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ९१२५ नम्वरको बस एक आपसमा ठक्किएको हो ।
दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।
घाइते मध्ये १४ जनाको पूरानो मेडिकल कलेज र १० जना चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ५ जनाको अवस्था गम्भिर रहेको ट्राफिक प्रमुख पन्तले जानकारी दिए ।






























