झर्रोटर्रो : ढडिया

प्रकाशित मिति : २०७४ भाद्र २५

- कैलुब्राह

यतिखेर नेपाल मण्डलको तराई खण्डमा ठूलठूला ढडिया थापिएका छन् । ढडिया नेपाल मण्डलको सुप्रसिद्ध जिनिस हो । यो हिमाल, पाहाड, तराई जुनसुकै भूगोलमा पनि पूर्व, पश्चिम, उत्तर, दख्खिन चारै कुना चारै दिसाका मनुखेहरूले प्रयोग गर्ने जिनिस हो । यसलाई माछा मार्ने काममा प्रयोग गरिन्छ । यसलाई माछाको बधशाला भन्दा पनि हुन्छ । यसलाई खोला खोल्सी, नदी, ताल जहाँ पनि थापिन्छ । अर्थात् जहाँ जहाँ माछा पाइन्छन् त्यहाँ त्यहाँ यो बधशालाको काम आउँछ । यसलाई गरिबगुरुवा मनुखेले प्रयोग गर्छन् । धनिमानीलाई यसको खाँचो पर्दैन । उनिहरूको ढडिया भनेको पैसा हो । पैसाको ढडिया होटेल, रेष्टुराँ र दुकानहरूमा थापिन्छ । खोला नदीहरूमा थापिन्न ।

गरिब गुरुवाले थाप्ने ढडिया भन्ने जिनिस यतिखेर नेपाल मण्डलका आधुनिक राजा माहाराजाहरूले तराईमा थापेका छन् । लोकतन्त्रे राजा माहाराजाहरू भनेका लाउके दलहरू हुन् । चारतारे, गोलघेरे र सूर्यद्धाप दल नेपाल मण्डलका लाउके दलहरू आधुनिक राजाहरू हुन् । यिनीहरूलाई सत्ताको भाषामा सिण्डिकेटे दल पनि भनिन्छ । यिनीहरूको सिण्डिकेटमा नेपाल मण्डल फनफनी घुमिरहेको छ । तिनै दलहरूले यतिखेर तराईमा ढडिया थापेका छन् । यो ढडिया विशेष गरेर दुई नम्बर प्रदेशमा थापिएको छ । मनुखे जातका माछाको खेति अहिले दुई नम्बर प्रदेशमा धेरै फलेको छ । त्यसैले त्यहाँ ढडिया थापिएको हो । विभिन्नि प्रकारका क्षेत्रीय ढडियाबाट राष्ट्रिय ढडियामा माछा छिर्ने क्रम तीव्र रूपमा भइरहेको छ । क्षेत्रीय ढडियाहरू फाटेर झ्याङप्वाल परेका छन् । त्यसो हुनाले ती ढडियाका ठूलठूला माछा पनि फुत्तफुत्त निस्कँदै सिण्डिकेटे ढडियामा छिरिरहेका छन् ।

कोही गोलघेरे ढडिया, कोही सूर्यछाप ढडिया र कोही चारतारे ढडियामा मधेशी माछा छिरिरहेका छन् । मधेशमा प्राकृतिक माछाको खेती पनि प्रसस्तै हुने गर्छ । काठमाण्डु खाल्डोमा समेत जनकपुरे माछाको प्रशिद्धि धेरै छ । मुगलिङ र मलेखुमा समेत जनकपुरे ब्रोइलर माछाले लोकल माछाको रूप धारण गरेर माछाका पारखी ग्राहकहरूलाई तृप्ति दिइरहेका छन् । मधेशका प्राकृतिक माछाले त रूप धारण गर्छन् भने आधुनिक मनुखे जातका माछाले पनि नयाँ नयाँ रूप धारण किन नगर्ने ? त्यसैले मधेशका मनुखेले नयाँ नयाँ रूप धारण गरेर दलबदल गरिरहेका हुन् । आपूmले मात्रै नयाँ रूप धारण गरेको होइन, जुन ढडियामा पस्यो त्यही ढडियाको रूप पनि बदलिदिएका छन् । जस्तोकी गोलघेरे दलको नाउँ नेकपा (माके) थियो अहिले नेकपा (लोफोराजपानशमाके) भएको छ । यसरी आपूm जहाँ छि¥यो तेसैको रूप बदल्ने मामिलामा उनिहरू निकै माहिर मानिन्छन् । कम्युनिस्टको कखरा समेत राम्रोसँग पढ्न नजान्नेहरू गोलघेरे ढडियामा छिरेर खाँटी र अब्बल दर्जाका कम्युनिस्ट बनेका छन् । त्यसै गरेर चारतारेमा छिर्नेहरू विपिका अब्बल दर्जाका अनुयायी र सूर्यछापमा छिर्नेहरू जबजका खाँटी प्रवक्ता बनिरहेका छन् । यसरी मधेशी मनुखे माछाहरूले रूप बदलेर नयाँ नयाँ अवतार लिइरहेका छन् ।

दुई नम्बरमा लोकल सरकारको चुनाउ चल्दै छ । छ वटा प्रदेशमा त काठमाण्डुमा कैद भएर बसेको सिँहदरबार फुकुवा भएर घरघरमा पुगिसक्यो । अब एउटै प्रदेशका घरघरमा सिँहदरबार जान बाँकी थियो त्यो पनि असोजको दुई गतेदेखि छिर्छ । अरू छ वटा प्रदेशका घरघरमा सिँहदरबार छिरेर मनुखेलाई सुतिसुति खान लाउन, ओक्तोमुलो गर्न भरिपूर्ण भा’छ । अब दुई नम्बरमा पनि सिँहदरबार छि¥यो भने देशैभरि झिलिमिलि झ्याइँ हुने छ । त्यसैले लोकल ढडियामा प्वाल पारेर राष्ट्रिय ढडियामा मधेशका माछा छिरिरहेका छन् ।
२४ भदौ २०७४

[email protected]