काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ ।
सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन ग्याब्रिएल जिसस र लेरोए सानेले २–२ गोल गरे भने सर्जियो अगुएरोले एक गोल थपे ।
खेलको ३७ औं मिनेटमै लिभरपुलका सादियो माने रातोकार्ड खाँदै बाहिरिएपछि पाहुना टोली १० जनामा समेटिएको थियो ।
प्रिमियर लिगअन्तर्गत्कै अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई २–१ ले हरायो ।
चेल्सीको जितमा अल्भारो मोराटा र एन्गोलो कान्टेले एक–एक गोल गरे भने लेस्टरका जेमी भार्डीले पेनाल्टीमार्फत् एक गोल फर्काएका थिए ।
शनिबार राति नै भएको अर्को खेलमा आर्सनलले बर्नमाउथलाई ३–० ले हरायो । आर्सनलको जितमा ड्यानी वेल्बेकको २ तथा अलेक्जेन्डर लाकाजेटले एक गोल गरे ।
प्रिमियर लिगमा टोटनह्याम हट्सपरले एभर्टनलाई उसैको मैदानमा ३–० ले पराजित गर्दा म्यानचेस्टर युनाइटेडलाई स्टोक सिटीले २–२ गोलको बराबरीमा रोकेको छ ।
स्टोकले घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई बराबरीमा रोकेसँगै जारी सिजनमा उनको विजयीयात्रामा पूर्णविराम लागेको छ । युनाइटेडका लागि रोमेलु लुकाकु र मार्कस रास्फोर्डले एक–एक गोल गरे भने स्टोक सिटीका चोउपो मोटिङले २ गोल गरेका थिए ।
प्रिमियर लिगअन्तर्गत् शनिबार राति भएका अरु खेलहरुमा ब्राइटनले वेस्ट ब्रोमलाई ३–१ ले हराँउदा वाट्फोर्डले साउथह्याम्पटनमाथि २–० को जित निकाल्यो ।
प्रिमियर लिगको अंकतालिकामा ४ खेलबाट १०–१० अंक जोडेका म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् भने समान खेलबाट ९ अंक जोडेको चेल्सी तेस्रो र ८ अंक जोडेको वाट्फोर्ड चौथो स्थानमा रहेका छन् ।































