एजेन्सी । भारतको मुम्बईमा २४ वर्षअघि भएको शृङखलाबद्ध बम बिष्फोटको घटनामा संलग्न भएको आरोपमा दुई जनालाई फाँसीको सजाय सुनाइएको छ भने मुख्य आरोपीसहित दुई जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
अभियुक्तलाई भारतको बिशेष टाडा अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो । बम बिष्फोटनका मुख्य अभियुक्त मानिएका अण्डरवल्र्ड डन अबू सलेमलाई जन्मकैदसहित २ लाख जरीवानाको सजाय सुनाइएको छ ।
यससँगै अभियुक्तहरु ताहिर मर्चेन्ट र फिरोज खानलाई फाँसी र करिमुल्लाह शेखलाई जन्मकैदको सजाय सुनाइएको छ । अर्का एक दोषी मुस्तफा दोसाको हृदयघातका कारण मृत्यु भइसकेको छ ।
सन् १९९३ को मार्च १२ मा मुम्बईमा शृङखलाबद्ध बिष्फोट गराउँदा २ सय ५७ जना मारिएका थिए भने ७ सय भन्दा बढी मानिस घाइते भएका थिए ।
यस हमलामा दोषी पाइएका माफिया डन अबू सलेम, मुस्तफा दोषा, मोहम्मद ताहिर मर्चेट, करिमुल्लाह खान, रियाज सिद्दिकी र फिरोज अब्दुल रशिद खानालाई सन् २००५ मा पोर्चुगलबाट सुपुर्दगी गरिएको थियो ।
यस हमलामा संलग्न रहेकोमा दोषी ठहर भएपछि बलिउड अभिनेता सञ्जय दत्तले जेलको सजाय भोगिसकेका छन् । मुम्बई हमलामा अदालतले १ सय जनाभन्दा बढीलाई दोषी ठहर गरेको छ ।