‘तीन दलीय सिण्डिकेटबाट साना दल प्रतिबन्धित, देश तीन दलीय निरंकुशतातर्फ’

‘तीन दलीय सिण्डिकेटबाट साना दल प्रतिबन्धित, देश तीन दलीय निरंकुशतातर्फ’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले समानुपातिकमा तीन प्रतिशत थ्रेस होल्ड र प्रत्यक्षतर्फ एक सिट जित्नैपर्ने प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मोर्चाका अध्यक्ष सीपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै तीन दलको सहमतिमा साना दलहरुलाई समाप्त पार्ने उद्देश्यले प्रस्तुत भई पारित भएको सो विधेयकप्रति ध्यानकर्षण भएको भन्दै तीन दलीय सिन्डिकेटबाट भएको यो निर्णयले अन्य राजनीतिक दलहरुमाथि अघोषित रुपमा प्रतिबन्धित भएर देश तीन दलीय निरंकुशतातर्फ गएको जनाएका छन् ।

तीन दलीय सिण्डिकेट र तानाशाहीले देशलाई निरंकुशतातिर अघि बढाइरहेको र देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता समाप्त पार्ने काम गरिरहेको चर्चा व्यापक भइरहेका बेला तीन दल मिलेर प्रतिनिधिसभामा तीन प्रतिशतको थ्रेस होल्ड, प्रत्यक्षमा चुनाव जितेकै हुनु पर्ने आदि विषयहरु अनिवार्य बनाई यो विधेयक ल्याइनु र पारित गरिनुले सो भनाईको सत्यता प्रमाणित भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संसदको विद्यमान् अंकगणित अनुसार संसदबाट यो विधेयक पारित भएको छ । जसकारण अन्य राजनीतिक दलहरु एक प्रकारले प्रतिवन्धित हुनपुगेका छन् र देश ‘लोकतान्त्रिक गणतन्त्र’ को नाममा दुई वा तीन दलीय निरंकुशतातिर गएको छ ।’

अध्यक्ष गजुरेलले विज्ञप्तिमार्फत राष्ट्रिय स्वाधिनताको रक्षा र निरंकुशताको अन्त्यका निमित्त संघर्षमा उत्रनका लागि तयार रहन सम्पूर्ण देशभक्त तथा सच्चा गणतन्त्रवादी शक्ति र जनसमुदायसँग आह्वान समेत गरेका छन् ।