एजेन्सी । अमेरिकी बहुराष्ट्रिय फर्मास्युटिकल कम्पनी जोनसन एन्ड जोनसनलाई अमेरिकाको एक अदालतले ४१ करोड ७ लाख अमेरिकी डलर हर्जाना तिराउन आदेश दिएको छ । यो रकम ४२ अर्ब ७५ करोड ९६ लाख रुपैयाँभन्दा बढी हो ।

अमेरिकी बहुराष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको बेबी पाउडर लगातार प्रयोगबाट एक महिलाको डिम्बासयमा क्यान्सर भएको पुष्टि भएपछि पाउडर प्रयोगकर्ताहरुमा त्रास फैलिएको छ ।

क्यालिफोर्नियाका न्यायाधीशको यो फैसलालाई सबैभन्दा बढी जरिवाना तिराउने फैसला भएको बताइएको छ । क्यालिफोर्नियाकी ६३ वर्षीया इभा इचेभरियाले ११ वर्षदेखि सो पाउडर प्रयोग गर्दै आएकी थिइन् ।

उनले सोही पाउडरले क्यान्सर भएको दाबीसहित दायर गरेको रिटको सुनुवाइ गर्दै अदालतले उपचाररत ती महिलालाई ४ सय १७ मिलियन अमेरिकी डलर जरिवानाको फैसला गरेको हो ।

जोन्सन एन्ड जोनसन कम्पनीले सो उत्पादनबाट क्यान्सर हुन सक्ने कुनै चेतावनी पाउडरमा राखेको थिएन । यस्तो घटनामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवानाको फैसला हो । कम्पनीले भने यो मुद्दामा पुनः अपिल गर्ने योजना बनाइरहेको छ ।

जोनसन एन्ड जोनसनका प्रवक्ता क्यारोल गुडरिचले एक वक्तव्यमा भनेका छन्, ‘हामी यो फैसलाका विरुद्ध अपिल दायर गर्नेछौं किनकी हामी विज्ञानलाई मान्दछौं ।’ उनले पाउडरको प्रयोगबाट क्यान्सर भएको सबुत एकदमै अपूर्ण रहेको जनाएका छन् ।

न्यु जर्सीस्थित जोनसन एन्ड जोनसनको मुख्यालयमा हजारौं महिलाले पाउडर लगाएपछि गर्भाशयको क्यान्सर भएको दाबी गरेका छन् । उनीहरुले गुप्तांगमा आउने पसिना सुकाउनका लागि पाउडरको प्रयोग गर्ने गरेको बताएका छन् ।

कम्पनीले यसअघि पनि पाँच वटा मुद्दामध्ये चार वटामा पराजित भइरहेको छ । जसबाट सो कम्पनीले ३० करोड डलर जरिवाना तिरिसकेको छ । सो मुद्दालाई हेरिरहेका वकिलका अनुसार इभा इचेभेरियाले ११ वर्षको उमेरदेखि पाउडरको प्रयोग गरिरहेकोमा १० वर्षअघि गर्भाशयको क्यान्सर भएको पत्ता लागेको थियो ।

महिलाले कम्पनीलाई क्यान्सरको खतराका बारेमा जानकारी भएर पनि लुकाएको दाबी गरेकी छन् । कम्पनीमाथि ७० मिलियन डलर हर्जाना र ३ सय ४७ मिलियन डलर सजायका रूपमा जरिवाना तिराउने फैसला गरेको हो ।

वर्षौंदेखि सो पाउडरका कारण गर्भाशयको क्यान्सर हुने कुरा बताइए पनि यही नै पूर्ण कारक नभएको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय शोध संस्थानका अनुसार गुप्तांगमा यसको प्रयोगबाट क्यान्सर हुन सक्छ ।

सन् १९७० को दशकमा बेबी पाउडर र अन्य कस्मेटिक उत्पादनमा ओभरी र सर्भाकल ट्युमर हुने अमेरिकी वैज्ञानिकले पत्ता लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर