मोदीले किन गरे देउवासँग ‘सरप्राइज’ भेट ?

मोदीले किन गरे देउवासँग ‘सरप्राइज’ भेट ?

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्धारित समय तालिकाभन्दा अगावै भारतीय प्रधानमन्त्रीले सरप्राइज भेट गरेका छन् । चीन र भारतको तानातानमा परेको नेपालका प्रधानमन्त्रीको भारत भ्रमणबारे उत्तरी छिमेकी चीनले दुवै देशसँग नेपालको सम्बन्ध सुमधुर हुनुपर्ने प्रतिक्रिया दिएपछि मोदीले देउवासँग समय तालिका अगावै भेट गरेको कुटनीतिक विश्लेषकहरुले दावी गरेका छन् । पाँचदिने राजकीय भ्रमणमा बुधबार मध्याह्न नयाँदिल्ली पुगेका देउवालाई बुधबार साँझ दिल्लीस्थित सेभेन रेसकोर्स रोडस्थित सरकारी निवासमा एक्लै भेटेर मोदीले ‘सरप्राइज’ दिएका हुन् ।

नयाँदिल्लीस्थित नेपाली दूतावासमा स्वागत कार्यक्रम चलिरहँदा चियागफका लागि मोदीसँग तत्काल भेटवार्ताको व्यवस्था मिलाइएको भ्रमणमा सहभागी अधिकारीहरूले बताएका छन् । ‘मोदीको आग्रहमा आकस्मिक भेट भएको हो । हैदरावाद हाउसमा बिहीबार मध्याह्न सरकारी तहमा हुने भेटअघि आधा घन्टाका लागि समय निर्धारण गरेका थियौं’, भ्रमण दलमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने । चीनले देउवाको भारत भ्रमणबारे प्रतिक्रिया दिएपछि यसरी मोदीले देउवासँग आकस्मिक घेट गरेको विश्लेषण गरिएको छ । 

विगतमा नेपाल–भारतका विषयमा प्रायः नबोल्ने चीनले पछिल्ला भ्रमणबारे भने प्रतिक्रिया जनाउँदै आएको छ । भुटान–चीन सीमा दोक्लमको विषयलाई लिएर भारतले उपस्थिति देखाएपछि दुई देशबीच तनाव बढेको अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणबारे चीनले गहिरिएर चासो राख्ने अडकल भइरहेका बेला चिनियाँ उपप्रधानमन्त्री वाङ याङले गतसाता गरेको नेपाल भ्रमणलाई समेत यही विषयसँग जोड्ने गरिएको छ । कूटनीतिक स्रोतका अनुसार चीनले केही समययता देउवालाई अहिलेको अवस्थामा नयाँदिल्ली नजाँदा राम्रो हुने आशय व्यक्त गरेको थियो । चीनमा हुने ब्रिक्स (ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका) सम्मेलनअघि नेपालका प्रधानमन्त्रीले भारत भ्रमण नगरून् भन्ने चाहना उसले अनौपचारिक रूपमा व्यक्त गर्दै आएको परराष्ट्रका अधिकारीले सुनाए । 

पछिल्लो समय खासगरी प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वको कालमा भारतसँग गरेको २५ बुँदे सम्झौताबाट नेपालको भारतसँगको सम्बन्धका साथै अन्तर्राष्ट्रिय मामिलामा राख्ने धारणाबारे समेत चीनले निकै चासो देखाउँदै आएको छ । दोक्लम प्रकरणमा नेपाल तटस्थ रहोस् भन्ने चिनियाँ आशय रहेको छ । तर भारत यस मामिलामा भारत र नेपालको एउटै धारणा बनाउन चाहन्छ र त्यसैका लागि कुटनीतिक दबाब पनि दिंदै आएको छ । चीनले नेपालमा बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) मार्फत सहयोग बढाउन लागेपछि असन्तुष्ट रहँदै आएको भारतले दोक्लम विवादमा भारतको पक्षमा उभ्याएर नेपाललाई चीनसँगको सम्बन्धबाट टाढा लैजान चाहेको पनि कुटनीतिक विश्लेषकहरुले तर्क गरेका छन् । 

नेपालका वामपन्थी, देशभक्त शक्तिहरुले नेपालले पञ्चशीलका आधारमा तटस्थ तथा असंलग्न परराष्ट्र नीतिमा अडिग रहनु पर्ने भन्दै देउवा सरकारलाई दबाब दिंदै आएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) लगायत नौं वटा वाम घटकले देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा एक संयुक्त वक्तव्य जारी गरी यस्तो दवाव दिएका थिए ।