काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका लागि निस्किएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत बुधबार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा श्रीमती आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा निस्केका हुन् ।
देउवाको यो भ्रमण प्रधानमन्त्री भएपछिको पहिलो हो । भ्रमण दलमा परराष्ट्रमन्त्रीसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको छ ।

भारतको बाह्य मामिला मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् । आजै साँझ नै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने छन् । नयाँदिल्लीमा बिहीबार द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा प्रधानमन्त्री देउवा बेलुकी अबेरसम्म अति व्यस्त हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुबै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिह हुनुहुनेछ । त्यहि दिन दिउँसो राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

त्यसैगरी, उहाँसँग गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा आउँदो आइतबार बेलुकी स्वदेश फर्किने छन् ।

यसै बिच, नेपालका नौ बाम घटकले एक सार्वजनिक बक्तव्य जारी गर्दै भारत भ्रमणको क्रममा नेपालको राष्ट्रहित विपरित कुनै पनि सन्धि सम्झौता नगर्न ध्यानाकर्षण गराउँदै सन् पचास लगायतका असमान सन्धि सम्झौताहरु खारेज गर्न र पञ्चशीलको आधारमा असम्लग्न परराष्ट्र नीति अडिक रहन माग गरेका छन् । भारत र चिन बिच जारी विवादमा नेपाललाई आफ्नो पक्षमा उभिन भारतले गरिरहेको आग्रहकै बिच हुन लागेको देउवाको यो भ्रमणलाई नेपालका राष्ट्रवादी, देशभक्त तथा बामपन्थी राजनीतिक शक्तिले त्यति राम्रो मानेका छैनन् । नेपालको आन्तरिक मामिलामा भारतले गर्दै आएको हस्तक्षपको विरुद्धमा यी शक्तिहरुले निरन्तर विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर